ब्युटिसियन सीप सिक्दै ग्रामीण महिला

वीरगञ्ज । पर्साको ग्रामीण भेगका महिलाहरूमा ब्युटिसियन सीपप्रति आकर्षण बढेको छ । पर्साको सदरमुकाम वीरगञ्जदेखी ३० किलोमिटर टाढा रहेको ग्रामीण भेगको पटेर्वा सुगौली गाउँपालिकामा सञ्चालित ब्युटिसियन तालिममा ब्युटिसियन सीपप्रतिको आकर्षण देखिएको हो ।

सहरका महिलाहरूमा मात्र देखिएको आकर्षण ब्युटिसियन तालिम सञ्चालनपश्चात ग्रामीण भेगका महिलाहरू पनि देखिएको छ । ब्युटिसियन सीपले महिलाहरूको सौन्दर्य बढाउने भएकोले आकर्षण बढेको तालिमकी प्रशिक्षक विना दाहालले बताइन् । उनका अनुसार तालिम सुरु भएको दिन १५ जना सहभागी थिए । त्यसको केही दिनमै २५ जना भयो । ती २५ जनाको तालिम अवधीभर सक्रिय सहभागिता रहेको प्रशिक्षक दाहालले बताइन् ।

पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा ब्रिलिएन्ट युवा क्लबले व्युटिसियन तालिम सञ्चालन गरेको थियो । एकमहिने ब्युटिसियन तालिमको समापनको दिन तालिमका सहभागीहरूले तालिम उपलब्धीमूलक भएको वताए । पटेर्वा सुगौली गाउँपालिका–४, सुगौलीस्थित रहेको श्री ने.रा.मा.वि. मा ब्युटिसियन तालिमको समापन समारोहमा बोल्दै सहभागीहरूले हालको अवस्थामा दैनिक जीवनमा नभई नहुने सीप ब्युटिसियनको भएको बताए ।

तालिमबाट एक महिनाको दौरान सिकेको सीपले दैनिक जीवनको साथै आयआर्जन गर्न पनि टेवा पुग्ने तालिमकी सहभागी मुनी चौधरीले बताइन् । जीवनको महत्वपूर्ण थोक सौन्दर्य रहकोले तालिमले हाम्रो जीवनलाई सजिलो भएको बनाएको बताइन् । अर्का सहभागी इशापति चौधरीले तालिमले आफूहरूको हौसला बढाएको बताइन् । उनले भनिन्, ‘तालिमबाट मैले ब्युटिसियन सीप सिकेको छु, अब केही समयमै ब्युटिपार्लर खोल्नेछु ।’

तालिमको समापन समारोहमा बोल्दै पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले आपूmभित्र रहेका सीप, कला प्रस्तुत गर्नुपर्ने बताइन् । महिलाहरूमा भएको सीप प्रस्तुत नगरेका कारण महिला पछाडि परेको उनको भनाइ थियो । त्यसकै लागि गाउँपालिकाले महिला विशेष कार्यक्रमअन्तर्गत सीपमूलक तालिम सञ्चालन गरेको बताइन् । महिलाहरूलाई साना तथा घरेलु उद्योगमार्फत आयआर्जनमा अग्रसर गर्न तालिम सञ्चालन गरिएको बताइन् । सिकेको सीपलाई व्यवसाय गर्न अग्रसर भएको गाउँपालिकाले सहयोग गर्ने कार्यक्रमकी प्रमुखअतिथिसमेत रहेकी उपाध्यक्ष महतोले प्रतिवद्धता जनाइन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले जबसम्म महिलाहरू आफ्नो खुट्टामा उभिँदैनन जबसम्म महिलाहरूको विकास नहुने बताए । सिकेको सीपले व्यवसाय गरी आत्मनिर्भर बन्नुपर्ने उनको सुझाव थियो । तालिम आयोजक संस्था ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले तालिमबाट सिकेको सीप व्यवहारमा लागू गरे महिलाहरूको आर्थिक, समाजिक, सांस्कृतिक र राजनीतिक विकासमा टेवा पुग्ने बताए । सीपलाई व्यवसायको रूपमा परिणत गरी महिलाहरू आत्मनिर्भर बन्नुपर्ने उनले सुझावसमेत दिए ।

प्रतिक्रिया