मृग मारेको आरोपमा १ पक्राउ

दोलखा । जिल्लाको बिगु गाउँपालिकामा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार दिउँसो एक बजे मृग मारेर घरमा लुकाइराखेको अवस्थामा एक जना पक्राउ परेका हुन् ।

मृग मारी ल्याई लुकाइराखेको भनी सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी टोली खटिई खानतलासी गर्ने क्रममा लुकु तामाङको घरमा फेला परेको प्रहरी निरीक्षक रेशम बोहराले बताए । खानतलासी गर्दा तामाङको घरमा २२ इन्च उचाइ र ३९ इन्च लम्बाइ भएको खैरो रङको मृग मृत अवस्थामा फेला परेको र अनुसन्धानका लागि तामाङलाई पक्राउ गरिएकोे बोहराले बताए ।

घटनास्थल गौरीशंकर संरक्षण आयोजना क्षेत्रभित्र रहेको हुँदा थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबार नै आयोजना कार्यालय दोलखा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया