भिन्नता खोज्दै डंगोल

काठमाडौं । ‘त्रिभुवन विश्वविद्यालयमा कविता पढाउँछु, आफै पनि कविता लेख्छु तर सिद्धान्तको धारमा लेखिने विधा होइन रहेछ कविता ।’ कवि एवं उपप्राध्यापक आरएम ड।गोलको अनुभवले भन्यो, ‘आजकल कविता आख्यान विधाको तुलनामा ओझेल पर्न थालेको छ, कविहरूले लोकजीवन लयलाई सरल र कलात्मक रूपमा प्रस्तुत नगर्ने हो भने कवितामाथि थप चुनौती थपिन्छ ।’

‘राशिफल हेरिरहेको मान्छे’ र ‘दशजगावारी’ कविता संग्रहका स्रष्टा राजुमान ड।गोलले ०४२ तिर छिमेकी नुवाकोटको विदुर नगरपलिका–२ शेराबाट काठमाडौं हानीएर राष्ट्रिय रुपमा स्थापित भए पनि कविताबारे अझै ठोकेर भन्न सक्ने नसक्नुको कविताको व्यापकता दर्शाउँछ ।

प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा हरेक शनिबार बिहान हुने ‘निरन्तर शनिबार’ कार्यक्रममा मुख्य कविका रुपमा उपस्थित कवि डंगोलले कविता लेखनका अनुभव सुनाउँदै केही थान कवितावाचन गरेका थिए । ‘रेडियो नेपालमा दाहाल यज्ञनिधिको ‘साहित्य संसार’ कार्यक्रम सुनेर कविता वाचनकलामा आकर्षित भएँ, ‘उनले भने ।

‘साहित्य सन्ध्या’ संस्थाका कार्यक्रममा नियमित सहभागी हुँदै ‘गरिमा’ पत्रिकामा ‘अन्तरध्वनि’ कविता छापिएपछि म यस विधामा होमिएको हुँ ।’ प्रगतिशील लेखक संघका पूर्व महासचिव कवि डंगोलले तीन दशकअघिको विगत सम्झँदै भने, ‘कविताबारे पढाउनु र कविता लेख्नुमा धेरै भिन्नता हँुदो रहेछ ।’

नयाँ र पुराना गरी सात कविता सुनाएका डंगोलले सम्बन्धित कविताका रचना गर्भबारे पनि संक्षिप्त अनुभव सुनाउँदा सहभागीले साहित्यिक स्वाद मानेका थिए । त्यसबखत कवि डंगोलले, ‘अन्तरध्वनि’, ‘पाँचथर’, ‘कवितामा काठमाडौँ’, ‘अनाम यात्रीहरुको नाममा’, ‘गुनासो २’, ‘शृङ्खला कविता’ र ‘अन्तर’ वाचन गरेका थिए । समालोचना पनि कलम चलाउने कवि डंगोलका संयुक्तसहित तीन कविता सङ्ग्रह छन् ।

सोही कार्यक्रममा सहभागी पदम दाहाल, केवल कार्की, दुर्गा जोशी, सुविन खनाल, सोझो गाउँले, सुदर्शन शर्मा र पूर्णिमा प्रतिबिम्बले आफ्ना रचना प्रस्तुत गरेका थिए । पछिल्लो समय ‘सात कवि’ अभियानमा जोडिएका डंगोल ०५७ मा नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा तृतीय भएका थिए भने हालसम्म उनले काठमाडौँ, नुवाकोट, चितवन र मोरङमा गरी आधा दर्जन स्थलमा एकल कविता वाचन गरिसकेका छन् । विभिन्न साहित्यिक संस्था र साहित्यिक पत्रकारितामा समेत आबद्ध डंगोल प्रलेसको पदीय जिम्मेवारीबाट हालै बिदा भएपछि नयाँ कविता सङ्ग्रहको तयारीमा छन् ।

‘सात कवि’ अभियानलाई डंगोलसहित गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर बेल्बासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीले सामाजिक सञ्जालमार्फत सञ्चालन गरिरहेका छन् । अभियानका एक सदस्य लोहनीले कवि डंगोललाई विचारमा दर्शन र दर्शनमा विचार मिलाएर कवितालाई कलात्मकरूपमा ढाल्न चित्रण गरेका छन् ।

नेपाली साहित्यमा बढी लेखिने तर कम बिक्री हुने विधामा कविता पर्नुले डंगोललाई मात्र नभइ दर्शक दीर्घमा रहेका समीक्षक विनोद मञ्जनलाई पनि बिझेको छ । कविता बुझेर विषयवस्तुमा पकड राख्नसक्ने र आकर्षक तरिकाले व्यक्त गर्नसक्ने भएपछि मात्रै कवितामा आबद्ध हुन सुझाव दिँदै मञ्जनले कवितामा कल्पना, विम्ब, प्रतीक र सौन्दर्यजस्ता तत्व अनिवार्य हुनुपर्ने बताए ।

उनले साहित्यमै विद्यावारिधी गरेका कतिपयले विद्धवानले विम्ब र प्रतीक एउटै हो भनिदिँदा अथवा त्यसको स्पष्ट परिभाषा नदिँदा स्रष्टामा अन्योल हुने जनाउँदै कवितामा ध्वनात्मक अर्थसमेत खोजिनुपर्ने जिकिर गरे ।

स्रष्टा मञ्जनले माथिका चार तत्वभित्रै कवितामा विचार र कलाको गाम्भीर्यता मिश्रण हुने जनाउँदै भने, ‘कवित्व नभएका रचनालाई कविता भनिदिने समालोचक र अग्रजका कारण कविता विधामा सशक्त प्रतिभा वृद्धि हुन सकेको छैन ।’

प्रतिक्रिया