अपराध नियन्त्रणमा प्रहरी सफल !

काठमाडौं । नेपाल प्रहरीले मुलुकको अपराध नियन्त्रणमा ०७५ मा उल्लेख्य काम गरेको बताएको छ । प्रहरीले सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न गृह प्रशासन सुधार योजनाअनुसार काम गरेको बताएको हो ।

प्रहरी प्रधान कार्यालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रूपमा व्यावसायिक तथा पारदर्शी ढंगले काम गरिरहेको बताए । ‘मुलुकमा हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानुरनविपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्छौँ,’ उनले भने ।

महानिरीक्षक खनालले राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएको बताउँदै यसलाई साथ दिन सञ्चारकर्मीलाई आग्रहसमेत गरे । ‘निर्मला पन्तको हत्यारा, रामबहादुर बम्जनबारे नेपाल प्रहरीले गहिरो ढंगले अनुसन्धान गरिरहेको छ,’–महानिरीक्षक खनालले भने । नेपाल प्रहरीले नेपालमा अपराध गरेर विदेश गएर बस्ने अपराधीलाई इन्टरपोलमार्फत कानुनी दायरामा ल्याएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशभरका ७ सय ५१ स्थानीय तहसँग सम्झौता गरिसकेको बताए ।

‘प्रहरीले एक लाख ९४ हजार विद्यार्थी, दुई हजार एक सय ९१ विद्यालय र १० हजार २ सय ८ अभिभावकसमक्ष समुदाय–प्रहरी साझेदारी कार्यक्रम लगिसकेका छौँ,’–उनले भने । ०७५ मा मात्र प्रहरीले दुई हजार २ सय ६३ फरार अभियुक्तलाई पक्राउ, ४ सय ३५ अवैध हातहतियार बरामद, विभिन्न आपराधिक घटनामा ३८ हजार एक सय ५१ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिइयो ।

यस्तै, ३७ हजार ६ सय ८९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न ठाउँबाट एक अर्ब ९३ करोड ९६ लाख ६० हजार राजसव संकलन गरेको छ । हाल प्रहरीको अपराध अनुसन्धानमा पाँच प्रतिशत प्रहरी रहे पनि अब त्यसलाई १० प्रतिशत पु¥याउने लक्ष्य राखिएको प्रवक्ता सुवेदीले बताए । बाल यौन दुराचारमा संलग्न रहेको आरोपमा छ विदेशी र एकजना नेपालीलाई पक्राउ, विध्वंसात्मक गतिविधिमा संलग्न एक हजार ५ सय १४ जनालाई पक्राउ, एक हजार ३ सय १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

यसैगरी, प्रहरीले आन्तरिकतर्फ १८ हजार २ सय ९४ जनालाई क्षमता अभिवृद्धि तालिम, ८५ प्रतिशत बेरुजु फस्र्योट, २८ प्रहरी इकाइ पुनःनिर्माण, चार हजार ७ सय ७४ प्रहरी कर्मचारीलाई पुरस्कार तथा एक हजार ९ सय ८० प्रहरी कर्मचारीलाई कारवाही गरेको छ ।

एक प्रहरी कार्यालय एक सवारी साधन नीति लिएको प्रहरी प्रधान कार्यालयले देशभरका विभिन्न स्थानमा दुई हजार ५ सय ५२ रोपनी जग्गा निःशुल्क प्राप्त गरेको जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउनका लागि प्रहरीले तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको छ । यस्तै भर्खरै मन्त्रिपरिषद्बाट पारित भएको ट्राफिक प्रोत्साहन भत्ताले ट्राफिक प्रहरीको मनोबल झन् बढेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

आगामी दिनमा देशभरका विभिन्न भागमा ७ सय ५० प्रहरी कार्यालय स्थापनाका लागि आवेदन परेको बताउँदै प्रहरीले उक्त आवेदन परिपूर्तिका लागि २२ हजार ४१८ जनशक्ति आवश्यक रहेको औँल्याएको छ । एक प्रहरी एक खाट हुनुपर्ने अभियानलाई पूरा गर्न नेपाल प्रहरीले आगामी दिनमा १२ हजार खाट निर्माण गर्नुका साथै देशभर ७ सय मेस तथा शौचालय आवश्यक रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

त्यसैगरी, प्रहरीले देशभर एक हजार थान सवारी साधन आवश्यक रहेको बताउँदै उपत्यकाभित्र छिर्ने सवारी साधनको चेकजाँचका लागि अत्याधुनिक भेहिकल एक्स रे सेवा प्रदान गर्न लागिरहेको बताएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारको स्वास्थ्य सेवालाई ध्यानमा राखेर गण्डकी प्रदेश र प्रदेश–ं२ मा प्रहरी अस्पताल तथा चितवन र सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया