रेश्मा भइन मिस नर्स

काठमाडौंं । स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौँ संस्करणको उपाधि रेश्मा प्रसाईंले हात पारेकी छन् । कीर्तिपुरकी २२ वर्षीया प्रसाई ओम हेल्थ कलेज चाबहिलकी बिएस्सी नर्सिङको पासआउट विद्यार्थी हुन् । २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्षसहित ब्युटी विथ ब्रेनको उपाधिसमेत जितिन् । उनले नगद ५० हजारसहित विभिन्न उपहार प्राप्त गरिन् ।

सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा भएको प्रतियोगितामा ट्यालेन्ट उपाधिसहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक अवार्डसहित आकृति मानन्धर सेकेन्ड रनरअप भइन् । दुवैले क्रमशः नगद ३० हजार र २० हजारसहित विभिन्न उपहार प्राप्त गर्न सफल भए । त्यस्तै, प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डिसी बेस्ट वाक, प्रीति सुनाम बेस्ट नर्सिङ थिम डे«स सन्ध्या ओझा, मोस्ट डिसिप्लिन, अनिता बस्नेत, पब्लिक च्वाइस, नवीना महर्जन, सोसियल्ली रेस्पोन्सिबल तथा सरगम गुरुङ, मोस्ट पपुलर विधाका विजेता चुनिए ।

नर्सिङ पेसामा संलग्न नर्सको व्यावसायिक जीवनलाई समाजसामु साक्षात्कार गराई उनीहरूको व्यक्तित्व, प्रतिभा र रुचिलाई बाहिर ल्याउने लक्ष्यका साथ कार्यक्रम गरिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । उनले भने, ‘नर्सिङ पेसामा आबद्ध स्वास्थ्यकर्मीलाई फरक प्लेटफर्म दिँदै स्वास्थ्यमा जागरण ल्याउनका लागि एउटा भिन्न प्रस्तुति गरिएको हो ।’

नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य रहेको कार्यक्रममा रोजिन शाक्यको सञ्चालन तथा कोरियोग्राफी रहेको थियो । कार्यक्रमको प्रस्तुतिलाई अझ बढी स्वास्थ्य सचेतनामा केन्द्रित बनाउने उद्देश्यले प्रश्नोत्तर चरणमा सोधिएका प्रश्नहरू पनि सोही विषयवस्तु सम्बन्धित थिए ।

आलिकार्ट स्टुडियो डिजाइनर वेयरमा सहभागी २५ जना नर्सिङ सुन्दरीको प्रस्तुति रनवे मोडलको जस्तै प्रभावकारी थियो । पूर्वमिसनेपाल अश्मि श्रेष्ठ र मोडल हन्ट नेपाल विजेता आशिष केसी सो स्टपरका रूपमा रनवे प्रस्तुतिमा रहेका थिए ।
एभरेस्ट क्रुको आकर्षक नृत्य रहेको प्रतियोगिताको फाइनलमा विगतको भन्दा फरक र भव्य गरिएको व्यवस्थापक यतना पाण्डेले बताइन् । प्रतियोगिताको निर्णायकमा चिकित्सकद्वय सन्ध्या चापागाईं र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोसिस क्षेत्री तथा स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सिइओ तेयन शर्मा रहेका थिए ।

प्रतिक्रिया