युक्रेनमा राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान सुरु

युक्रेन । राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि सुरु भएको छ । चुनावमा राष्ट्रपति पेट्रो पोरोसेन्को र हाँस्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पछिल्ला जनमत सर्वेक्षणले हास्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् ।

यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्को विरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले कडा चुनौती दिएका थिए । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोसेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेकोे तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् ।

युक्रेनी चुनाव आयोगका अनुसार जेलेन्स्कीले ३० दशमलव २ प्रतिशत र पोरोसेन्कोले १६ दशमलव ७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्वप्रधानमन्त्री युलियाले १३ दशमलव शून्य ८ प्रतिशत मत प्राप्त गरेका थिए । करिब ४ करोड २० लाख जनसंख्या रहेको युक्रेनको यसपटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरूमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र संघर्षबाट युक्रेन आक्रान्त छ ।

युक्रेनको संविधानअनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ ।

प्रतिक्रिया