भारतका प्रधानन्यायाधीशलाई यौन दुराचारको आरोप

नयाँदिल्ली । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन् ।

३५ वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्टोबरमा उनलाई दुईपटक यौन दुराचार गरेको आरोप लगाइएको छ । उनले यौन उत्पीडन गरेको र त्यस्तो गर्न नमान्दा परिवारलाई विभिन्न किसिमले सताइएको दाबी गरेकी छन् । एउटा वक्तव्यमा ६४ वर्षीय गोगोईले उनीमाथि लागेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै त्यसलाई ‘गलत र अपमानजनक’ बताएका छन् ।

उक्त आरोपलाई उनले ‘न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर खतरा’ को रूपमा अथ्र्याउँदै ‘न्यायपालिकालाई अस्थिर गर्ने ठूलो षड्यन्त्र’ भनेका छन् ।

आरोप लगाउने महिलाले एउटा उजुरीपत्र सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई पठाएकी छन् । ती महिला विवाहित हुन् । भारतीय कानुनअनुसार उनको नाम सार्वजनिक गर्न मिल्दैन । उनले आरोपपत्रमा गत अक्टोबर १० र ११ तारिखमा गोगोईको निवासमा यौन दुराचार भएको उल्लेख गरेकी छन् । ती महिलाले आरोप लगाएकी छन्, ‘उनले मेरो कम्मर समाते र हातले मेरो शरीरभरी सुम्सुम्याए ।’ गोगोईले नछाडेपछि आफूले ‘उनलाई धकेलेर उनको कब्जाबाट छुटेको’ ती महिलाको आरोप छ ।

उनका अनुसार गोगोईले उक्त घटनाबारे नबताउनु र बताए ‘परिवारलाई धेरै दुःख दिने’ धम्कीसमेत दिएका थिए । ती महिलाले आफूलाई तीन ठाउँमा सरुवा गरिएको र गत डिसेम्बरमा जागिरबाट हटाइएको आरोप लगाएकी छन् । उनले आफ्ना पति र भाइलाई पनि निलम्बन गरिएको बताएकी छन् । गत मार्चमा हरियाणाको झज्जर सहरवासी एक जनाले ती महिलाले अदालतमा जागिर लगाइदिने आश्वासन दिएर घुसका रूपमा पैसा लिएको आरोप लगाएर उजुरी गरेका थिए ।

उनले उक्त आरोपलाई अस्वीकार गर्दै र गत मार्चमा परिवारका सदस्यसहित प्रहरी चौकीमा उपस्थित हुँदा उनीहरूमाथि दुव्र्यवहार गरिएको बताएकी छन् । उनले दिएको उजुरीमा भनिएको छ, ‘दुव्र्यवहारको उद्गम र उद्देश्यबारे नबोलुन्जेल दुव्र्यवहार, उत्पीडन र यातना रोकिने छनक देखिएन ।’

उक्त प्रकरणमा पहिलो प्रतिक्रिया प्रधानन्यायाधीशका तर्फबाट सर्वोच्च अदालतका महासचिवद्वारा जारी वक्तव्यमार्फत बाहिर आएको छ । उक्त वक्तव्यमा भनिएको छ, ‘यो पूर्णतः गलत हो र अपमानजनक छ । यसलाई पूर्ण रूपमा अस्वीकार गरिन्छ ।’ उक्त वक्तव्यका अनुसार ‘कुनै पनि वेला ती महिलाको प्रधानन्यायाधीशसँग प्रत्यक्ष रूपमा कुराकानीसमेत भएको’ थिएन ।

उक्त वक्तव्यमा ती महिलाविरुद्ध भ्रष्टाचारको आरोपमा लगाइएको मुद्दाको उल्लेख गर्दै ‘कानुनी कारबाहीबाट बच्न गरिएको एउटा दबाबमूलक रणनीति’ का रूपमा त्यसलाई अथ्र्याइएको छ ।

त्यसमा ती कर्मचारीलाई ‘प्रक्रियानुसार’ नै उनको ‘गलत आचरण’ का लागि बर्खास्त गरिएको उल्लेख छ । शनिबार सर्वोच्च अदालनको विशेष इजलाससमक्ष गोगोईले आफैँले पनि उक्त प्रकरणलाई सम्बोधन गरेका थिए । उनले भने, ‘म यी आरोपहरूको जवाफ दिनका लागि एकदमै अपमानित हुन चाहन्नँ । मैले सर्वोच्च अदालतका सबै कर्मचारीहरूलाई आदरपूर्वक व्यवहार गरेको छु ।’ उनले उक्त प्रकरणको पछाडि ‘न्यायालयलाई अस्थिर बनाउने ठूला शक्तिहरू रहेको’ बताए।

प्रतिक्रिया