खोलाको पानी पिउँदै बुढीनन्दावासी

बाजुरा । बुढीनन्दा नगरपालिकामा एक सातादेखि खानेपानीको चरम समस्या भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टी बजार क्षेत्रमा आपूर्ति हुने पानीको पाइप डोजरले बाटो खन्ने क्रममा अवरुद्ध गरेपछि कोल्टी बजारमा खानेपानी र बिजुली बत्तीको चरम अभाव भएको हो ।

बजार र बजार क्षेत्र आसपासका गाउँमा खानेपानी नभएपछि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य भएका छन् । दुई हप्तादेखि बिजुली बत्ती अवरुद्ध भएको छ भने एक हप्तादेखि खानेपानी अवरुद्ध भई बजारमा चरम समस्या हुँदा पनि नगरपालिकाले कुनै वास्ता नगरेकोप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

खानेपानी र बिजुली बत्ती नहँुदा अहिले खोलाको पानी खानुपरेको छ भने मैनबत्ती बालेर रात कटाउने गरेको बुढीनन्दा नगरपालिका–२ का स्थानीय मोहनदार दमाईले बताए । यसरी नगरपालिका र सम्बन्धित निकायले वास्ता नगरे आफूहरू नगरपालिकामा तालाबन्दी गर्ने स्थितिमा पुगेको स्थानीयको आक्रोश छ ।

‘दुई हप्तादेखि बिजुली बत्ती छैन एक हप्तादेखि खानेपानी छैन स्थानीय तह के हेरेर बसेका छन्’, स्थानीयले प्रश्न गरेका छन् । लामो समयदेखि बिजुली र खानेपानीको अभाव हुँदा बजार क्षेत्रमा बस्ने व्यापारी र स्थानीयलाई चरम समस्या भएको उद्योग वाणिज्य संघ कोल्टीका अध्यक्ष कासीराम कैलाले बताए । खानेपानी, बिजुली बत्तीजस्तो अति आवश्यकीय वस्तु दुई हप्तासम्म अवरुद्ध हुँदा स्थानीय सरकारले ध्यान नदिएकोप्रति उनले दुखेसो गरे । प्रदेश सांसद, नगरप्रमुख, उपप्रमुख भएकै गाउँ र आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव भई रहँदा जनप्रतिनिधिले कुनै वास्ता नगरेको स्थानीयको आरोप रहेको छ ।

आरसीआइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने सिराडी जाने बाटो निर्माण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको छ । बुढीनन्दा नगरपालिकाका प्रवक्ता कृष्णराज उपाध्याले बत्तीको नहरमा परेको माटो फाल्ने काम शनिबारदेखि सुरु भएको र पानीका लागि पाइप किनेर जोड्ने काम भइरहेको जानकारी दिए ।

अस्थायी रूपमा शुक्रबार साँझैबाट खानेपानीको आपूर्ति हुने उनले बताए पनि शनिबारसम्म पानी आउन सकिरहेको छैन । समृद्धिका चर्का नारा लगाउने स्थानीय तहले खानेपानी बिजुली बत्ती सडक ढल निकासजस्ता आधारभूत कुराहरू पनि पूरा गर्न नसकेकोप्रति सामाजिक सञ्जालमा समेत चर्को विरोध भएको छ भने कतिपयले नगरपालिका नभएर नर्कपालिका भएको समेत टिप्पणी गरेका छन् ।

प्रतिक्रिया