भारतमा दोश्रो चरणको निर्वाचन

नयाँ दिल्ली । भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव सम्पन्न भएको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा ५.४० बजेसम्म ६१ प्रतिशतभन्दा बढी मत खसिसकेको थियो । दोस्रो चरणको मतदानमा दशौँ लाख भारतीयहरू सहभागी भएका छन् । अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको खबर छ ।

उडिसा राज्यमा एकजना निर्वाचन अधिकारीलाई माओवादी विद्रोहीहरूले एम्बुसमा पारी गोली हानी हत्या गरिदिएका छन् । भारत प्रशासित कश्मीरको श्रीनगरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुने आशमा छन् भने विपक्षी कंग्रेसले उनलाई चुनौती दिइरहेको छ । बिहीवार बिहान मतदान सुरु हुनुभन्दा केही घण्टा अगाडि उडिसाको एक मतकेन्द्रमा जाँदै गर्दा सन्जुक्ता डिगलको गाडीमाथि माओवादीहरूले आक्रमण गरे ।

बिहीवारको दोस्रो चरणको मतदान १२ राज्य तथा एक केन्द्रशासित प्रदेशमा भएका थिए । आसाम, बिहार, छत्तीसगढ, जम्मू कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पुदुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका सिटहरूमा मतदान भएका छन् ।

कूल ५४३ लोकसभा सिट मध्ये शुक्रबारको मतदानले ९५ सिटको टुंगो लगाउनेछ । भारतको चुनाव ७ चरणमा भइरहेको छ । मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ ।यो चुनावलाई प्रधानमन्त्री मोदीप्रति जनमत संग्र्रहको रूपमा पनि हेरिएको छ ।

मतदाताले औँला काटे
भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन् ।

सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दुर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएको देख्न सकिन्छ ।

उनले खासमा एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेका तर विद्युतीय भोटिंग मशिनमा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन् ।

मतदान गरिसकेपछि प्रत्येक मतदाताको चोरऔंलामा सजिलै मेट्न नसकिने मसीको चिन्ह लगाइदिने गरिन्छ । पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए ।

‘म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ,’ पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ । सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो ।

उक्त पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ । भारतको निर्वाचनमा पार्टीको चुनाव चिन्हको ठूलो अर्थ रहन्छ । धेरै भागमा साक्षरता दर कम रहेको उक्त देशमा चुनाव चिन्हका कारण पार्टी चिन्न मतदातालाई सहज हुने गर्छ ।

प्रतिक्रिया