कथितमाईली पाथिभराका पुजारी घिमिरेद्धारा नै दानपेटिका चोरी

पुजारी झमकबहादुर घिमिरेलाई मोटरसाइकलमा राखेर जिल्ला प्रहरी कार्यालय लगिदैं । फाइल तस्वीर

इलाम । इलाममा एक पुजारीद्धारा नै पाथिभरा मन्दीरबाट दानपेटिका नै चोरी भएको छ । इलाम नगरपालिका वडा नम्बर ४ धारापानीस्थीत कथितमाईली पाथीभराको नाममा हजारौंलाई वेवकूफ बनाउँदै आएका कथितपुजारी झमकबहादुर घिमिरेको अर्को कर्तुत सार्वजनिक भएको हाे । झापाबाट लाखौंको रकम झ्वामपारी इलाममा कथितपुजारी बनेका ४५ वर्षीय घिमिरेले मन्दिरको दानपेटिका नै चोरी गरेका छन् ।

त्यहाँ राखिएको दानपेटिका रकमसहित उनै पुजारी घिमिरेले चोरी गरेको खुलेको छ । गत २ वैशाख राती दानपेटिका चोरी गरेको पाथीभरा संरक्षण समितिले गरेको अनुसन्धानमा खुलेको समितिका एक पदाधिकारीले जानकारी दिए । सुरुमा उनका छोरा सुदिल घिमिरेले चोरी गरेको घिमिरे परिवारबाट स्वीकार गरिए पनि थप अनुसन्धानबाट पुजारी झमकबहादुर घिमिरेले नै चोरी गरेको खुलेको छ ।

पूजा गर्ने स्थान नजिकै राखिएको दानपेटिका बिहान न भेटीएपछि समितिले खोजी गरेको थियो । खोजी गर्ने क्रममा पुजारी घिमिरेका छोरा सुदिल घिमिरेले दानपेटिका चोरी गरी फरार भएको बताइए पनि अनुसन्धानमा पुजारी झमकबहादुर घिमिरेले नै चोरी गरेको बताईएको छ । दानपेटिकामा करिब ३० हजार रुपैयाँ रहेको समितिका सचिव सूर्य रीजालले बताए ।

छोरा सुदिलघिमिरे फरार 

कथित पाथीभराको स्थापना नै सुनियोजित रुपमा भएको धेरैको आशंका थियो । लाखौंको ऋण तिर्न उपाय खोज्ने क्रममा कथित पाथीभराको स्थापना गरेको हुनसक्ने जिल्लावासीको आशंका छ । पछिल्लो दानपेटिका चारीको घटनाले थपशंका उत्पन्न गराएको छ ।

उक्त दानपेटिका चोरी भएपछि पुजारी भनिएका झमकबहादुर घिमिरेका छोरा सुदिल घिमिरे फरार छन् । पाथीभरा संरक्षण समितिले दानपेटिका चोरी भएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएपछि सुदिल फरार भएका हुन् । त्यस पछि घटना थप रहस्यमय बनेको छ ।

प्रहरीले अनुसन्धान गर्ने भएपछि निज पुजारीकै छोरा फरार हुनुमा पारिवारिक संलग्नता नै रहेको अनुमान गरिएको छ । छोरा सुदिललाई फरार गराउनमा आफ्नै बाबु मन्दीरका पुजारी झमक घिमिरे नै भएको पत्ता लगाइको समितिका सदस्यको भनाई छ । पूजारी घिमिरेलाई बचाउ गर्न छोरा फरार भएको नाटक रचिएको धेरैको अनुमान छ ।

फरार सुदिल उपस्थित हुनुपर्छः प्रहरी

यता जिल्लाप्रहरी कार्यालय इलामले चोरीको घटना संकास्पद रहेकाले अनुसन्धानका लागि फरार सुदिल उपस्थित भए मात्र यथार्थ कुरा बाहिर आउने बताएको छ । ‘पुजारीकै छोराले चोरी गरेको भन्ने समितिबाट आएको छ । तर उनी फरार छन् ।

कतिपयले पुजारीकै संलग्नता भनिरहेका छन्, प्रहरी प्रमुख माधव श्रेष्ठले भने, ‘चोरीको काण्डमा प्रमाण विना केही नहुने भएकाले अनुसन्धानका लागि फरार सुदिललाई तत्काल ल्याउन भनेका छौँ । उनलाई उपस्थित गराएपछि मात्र यथार्थ पत्ता लाग्ने छ ।’

झापाबाट ५७ लाख ठगेर इलाम आएका घिमिरे स्वघोषित पुजारी

झमकबहादुर घिमिरेले केही दिन अघि झापा मेचीनगर १४ का ३६ जना स्थानीयले आफुहरुबाट ५७ लाख रुपैयाँ भन्दा बढी ठगी गरेर भागेको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेका थिए । उजुरी पछि उनलाई पक्राउ गरी इलामबाट झापा लगिएको थियो ।

छलफलका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले घिमिरेलाई मेची नगरपालिका वडा नम्बर १४ लाई जिम्मा लगाएको थियो । वडा कार्यालयले पीडित समेतको उपस्थितिमा छलफल गरी सम्पूर्ण रकमफिर्ता गर्ने सहमतीसँगै वडा कार्यलयको रोहबरमा तमसुक गरी घिमिरेलाई छाडिएको थियो ।

उक्त तमसुकमा माघिमिरेले लिएको ऋण साँवा र ब्याजसहित ०७६ असोजदेखि ०७७ असोजसम्म तिरीसक्ने र तिर्न नसके आफ्नो पैत्रिक सम्पतिबाट असुल उपर गरिने उल्लेख छ । घिमिरेले विभिन्न व्यवसाय गर्ने बहानामा झापामा धेरैको रकम ठगेपछि इलाम आएर पाथीभराको नाममा अर्को ठगी धन्दा चलाउन खोजेको स्थानियको भनाई छ ।

पछिल्लो समय झापा बस्दै आएका घिमिरे आफुमा पाथिभरा माताको शक्ति आएको भन्दै गत कात्तिकमा इलाम आएका हुन् । पुजारीको नाममा पटक पटक बिवाद आएपछि समितिले शनिबार छलफलका लागि बैठक बोलाएको छ ।

प्रतिक्रिया