पञ्चेबाजा संरक्षण

जाजरकोट । सामाजिक तथा संस्कारका विभिन्न अवसर तथा विवाह बजाइने पञ्चेबाजा संरक्षणमा अभियान थालिएको छ । मौलिक बाजाका रूपमा परम्परादेखि प्रचलित यी बाजा लोप हुने अवस्थामा पुगेपछि पछिल्लो समय समुदायगत रूपमै संरक्षण गर्न थालिएको छ । आधुनिक बाजाको प्रलचनमा बढोत्तरी हुन थालेपछि पराम्परागत रूपमा बजाइने मौलिक संस्कृति बोकेको पञ्चेबाजा संरक्षणका लागि जिल्लाको नलगाड नगरपालिका लागेको हो ।

जिल्लाका विभिन्न स्थानमा सयौँको संख्यामा रहेका यसका वाद्यवादक अहिले सीमित संख्यामा मात्रै रहेका छन् । विशेषगरी वृद्धवृद्धा मात्रै यसप्रति चासो राख्ने भएकोले यसको परम्परागत सीप नयाँ पुस्तामा नसरेका कारण अभियाननै थालिएको हो । नेपालीको मौलिकता झल्काउने पञ्चेबाचा बजाउने सीप सिक्न युवा पिँढीले नचाहँदा बाजा नै लोप हुने अवस्थामा पुगेको भन्दै संरक्षणमा लागेको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले बताए । उनले अहिले युवायुवतीले बाजा बजाउन नचाहने कारणले बाजा नै संकटमा परेको गुनासो गरे । संकटमा पर्न लागेको पञ्चेबाजाको संरक्षण गर्नका लागि नगरपालिकाले अभियान नै सञ्चालन गरेर कामको थालनी गरेको हो । पञ्चेबाजा संरक्षणका लागि बजेट विनियोजन गरेर काम थालनी गरिएको नगरपालिकाकी प्रवक्ता राममाया हमालले जनाइन् ।

पञ्चेबाजामा नरसिंगा, दमाहा, सनही लगायतका बाजाको प्रयोग हुने गरेको छ । अहिले गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ । विगतमा विभिन्न बाजाको निर्माण स्थानीयस्तरमा हुने गरेको भए पनि त्यस्ता खालका बाजा बनाउने सीप भएका मानिस नभएपछि बाजा लोप हुँदै जाने भएकाले यसको संरक्षणमा नगरपालिका जुटेको छ । नलगाड नगरपालिका–२ का महेन्द्र परियारले पञ्चेबाजा संरक्षण कार्य सुरु भएसँगै सरोकारावाला खुसी भएको जनाएका छन् । उनले आफ्नै लगानीमा दमाह लगायतका वस्तुहरु खरिद गर्दै आएका दमाईं जातिले स्थानीय सरकारको सहयोग पाएपछि खुसी भएको सुनाए ।

पञ्चेबाजा संरक्षणका लागि समावेशी बाजा टोली बनाई काम थालिएको छ । समयानुकूल बाजा संरक्षण गर्दै लिनुपर्नेमा जोड दिँदै काम थालिएको नगरपालिकाका निर्मित प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए । सबै जातिका स्थानीयवासी मिलाएर बाजा टोली बनाई काम थालिएको छ ।

प्रतिक्रिया