उत्तर कोरियाले फेरि अस्त्र परीक्षण गरेको दाबी

वासिंगटन । उत्तर कोरियाले परबाट नियन्त्रण गर्न सकिने एउटा नयाँ किसिमको अस्त्रको परीक्षण गरेको जनाएको छ ।

‘ट्याक्टिकल गाइडिड वेपन’ भनिएको सो अस्त्रबारे त्यहाँको सरकारी समाचार संस्थाले धेरै जानकारी दिएको छैन तर उसले त्यसमा ‘शक्तिशाली युद्धशीर्ष’ जडान भएको उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ(अनबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा दोस्रो शिखरवार्ता असफल भएपछि उत्तर कोरियाले अस्त्र परीक्षण गरेको हो । उत्तर कोरियाले यसअघि पनि यस्तै किसिमको अस्त्र परीक्षण गरेको दाबी गरेको थियो । तर पर्यवेक्षकहरूले त्यसलाई अमेरिकामाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा अथर््याएका थिए ।

गत हप्ता नेता किमले अमेरिका राष्ट्रपति ट्रम्पले वार्ताका लागि ‘सही नियत’ लिएर आए थप वार्ता गर्न सकिने बताएका थिए । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार उक्त परीक्षणको निरीक्षण नेता किम आफैँले गरेका थिए ।

केसीएनएका अनुसार उक्त अस्त्रमा उडानलाई मार्ग निर्देशन गर्ने विशिष्ट विधि छ । उसले यो परीक्षणमा विभिन्न लक्ष्यमा विभिन्न तरिकाबाट प्रहार गरिएको जनाएको छ । परीक्षणपछि प्रतिक्रिया दिँदै किमले यो ‘जनसेनाको युद्ध शक्ति बढाउन धेरै महत्वपूर्ण’ उपलब्धि भएको बताएका छन् । उक्त अस्त्रबारे खासै धेरै विवरण सार्वजनिक गरिएको छैन ।

यद्यपि, सानो दूरीको अस्त्र भएकोले त्यसबाट संयुक्त राज्य अमेरिकालाई खतरा नरहेको विश्लेषकहरूको धारणा छ । गत वर्ष आफ्नो परमाणु क्षमता ‘पुष्टि भइसकेको’ जनाउँदै प्योङ्याङले अबका दिनमा अन्य महाद्वीपमा हमला गर्न सक्ने लामो दूरीको क्षेप्यास्त्र परीक्षण नगर्ने जनाएको थियो ।

उत्तर कोरियाले ब्यालेस्टिक र लामो दूरीको क्षेप्यास्त्रमा समेत अटाउने परमाणु बम बनाएको र उक्त अस्त्र अमेरिकासम्म पुग्न सक्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया