भारतका १२ राज्यमा दोस्रो चरणको मतदान

नयाँ दिल्ली । भारतमा विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत विभिन्न राज्यमा बिहीबार दोस्रो चरणमा मतदान सम्पन्न भयो । यो चरणमा तमिलनाडुसहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य थिए ।

संसद्को तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचनअन्तर्गत मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ । सबैतिर मतदान सकिएपछि मतगणना २३ तारिखमा सुरु हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन् । यो निर्वाचनलाई उनका लागि जनमतसंग्रहका रूपमा हेरिएको छ ।

यद्यपि, रोजगारी सिर्जना गर्ने र किसानको समस्या सम्बोधन गर्नेजस्ता आफ्ना वाचा सरकारले पूरा गर्न नसकेको विपक्षीहरूको आरोप छ । यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ ।

लोकसभामा ५४३ स्थान छन ्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ । गत एप्रिल ११ मा पहिलो चरणमा उत्तरप्रदेश, बिहार, पश्चिम बंगालसमेत १८ राज्य र दुई केन्द्र शासित क्षेत्रमा मतदान भएको थियो ।

पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद् निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद् छानिनेछन् ।

दोस्रो चरणमा आसाम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बंगालका निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । तमिलनाडुकका ३८ क्षेत्र तथा त्रिपुरा, मणिपुर र पुद्दुचेरीमा एक÷एक क्षेत्रमा मतदान हुँदैछ ।

तमिलनाडुमा भेलोरमा हुनुपर्ने मतदान अनियमितताको आशंकामा स्थगित भएको छ । मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो । भाजपाले अहिलेको जस्तै बहुमत कायम राख्न निर्वाचन अभियान चलाएको छ ।

तर, बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ । राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए ।

उनकी बहिनी प्रियंका गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन् । प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन् ।

मोदी सत्तारूढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिमा रूपमा रहेका छन् । तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन् । मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन् ।

यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन् । सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए । सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले दुई सय ८२ स्थानमा जितेको थियो भने कंग्रेस पार्टी ४४ स्थानमा खुम्चिएको थियो ।

कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्ने छैन । संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१–५२ मा निर्वाचन भएको थियो ।

पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो । सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चारदेखि १० दिन लागेको थियो । सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको थियो ।
यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन् । नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको संख्या डेढ करोड छ ।

निर्वाचन अधिकारीको हत्या
भारतको पूर्वी राज्य उडिसामा दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टाअघि एक निर्वाचन अधिकारीको हत्या भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीको सन्दिग्ध माओवादीहरूले हत्या गरेका हुन् ।

संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदान केन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ । विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत भारतमा उडिसासमेत १२ राज्य र केन्द्रशासित एउटा क्षेत्रमा बिहीबार दोस्रो चरणमा मतदान भइरहेको छ । भारतमा कुल ९० करोड मतदाता रहेका छन् । निर्वाचनका लागि देशभरि ५० लाख कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया