‘पसिना’ मा मजदुरको कथा

काठमाडौं । ‘गरौँ सत्कर्म, बगाऔँ पसिना’ भन्ने नारा बोकेको चलचित्र ‘पसिना’ को ट्रेलर रिलिज भएको छ । आरबी खत्री ‘शरद्’ ले निर्देशन गरेको यस चलचित्रको निर्माण युनिटले बुधबार ट्रेलर सार्वजनिक गरेको हो ।  रिलिज गरिएको ट्रेलरमा चलचित्रका केही अंश समेटिएको छ । मजदुरले जीवन यात्रामा गर्नुपर्ने संघर्षको कथालाई उधिनिएको यस चलचित्रले श्रम र त्यसको मूल्य बोधलाई उजागर गरेको जनाइएको छ । यस चलचित्रको नयाँ वर्षको अवसर पारेर केही दिनअघि फस्ट लुक सार्वजनिक गरिएको थियो ।

पसिनासँगै सत्कर्म गर्नुपर्ने सन्देश दिएको यसमा अभिनेता गौरव पहारी, अभिनेत्री अनु शाह, सरोज खनाल, रवि गिरी, सरोज अर्याल, धु्रव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, राम केसीको छायांकन, नवीन निरौलाको सम्पादन, शिव विक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द्व रहेको छ । चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिइको निर्देशक खत्रीले बताए ।

आगामी २७ वैशाखबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका कथा निर्देशक खत्रीकै रहेको छ । श्रम र पसिनाको मूल्य निकै मूल्यवान् हुने र त्यसको भावलाई चलचित्रले उठान गरेको कार्यकारी निर्माता सञ्जय महतोले बताए ।

प्रतिक्रिया