आठौँ खेलकुदमा दर्शकको खडेरी

बुटवल । नयाँ खेलाडी उत्पादनसँगै खेलाडीको क्षमता वृद्धि गर्ने उद्देश्यले जारी आठौं राष्टिय खेलकुद प्रतियोगिता भइरहदा दर्शकको खडेरी परेको छ । मोफसलमा हुने स–साना प्रतियोगितामा समेत खचाखच हुने दर्शक आठौँ राष्टिय खेलकुदमा भने शून्य छन् । वैशाख महिनाको तातो गर्मिमा खेलाडी र अफिसियल बाहेक कोही पनि देखिँदैनन् ।

कमजोर व्यवस्थापन र प्रचार प्रसारको कमी हुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएको रुपन्देहीमा दर्शकको खडेरी परेको छ । वडा तहका प्रतियोगिताहरू भन्दा पनि अव्यवस्थित र भद्रगोल व्यवस्थापनले दर्शकहरू मैदानसम्म आएका छैनन भने खेलाडीमा समेत नैरश्यता छाएको छ । नेपाल पुलिस क्बलका क्याप्टेन भरत शाहले सरकारले जसरी पनि खेल सम्पन्न गर्ने ध्यानमा लाग्दा प्रत्येक वर्ष प्रचार प्रसारमा ध्यान नदिएको बताए ।

विभागीय टिम सहभागी प्रतियोगितामा दर्शक नहुने भनेको राष्टिय खेलमा भएको उनले बताए । त्यस्तै सुदुरपश्चिममाञ्चल प्रदेशका क्याप्टेन ज्ञानेन्द्र शाहीले कमजोर व्यवस्थापन र प्रचार प्रसार नहुँदा खेल मैदानमा दर्शकको खडेरी परेको बताए ।

सामान्य प्रतियोगितामा खचाखच हुने प्याराफिट खाली छ भने मैदानसमेत अव्यवस्थित छ । प्रतियोगितामा विभागीय टिमसहित प्रदेश स्तरका खेलाडीहरू भए पनि स्थानीय स्तरका खेलाडीहरूसमेत दर्शकको रुपमा मैदानमा देखिदैनन । यसले खेलकुद प्रतियोगिता गर्दा व्यवस्थापन कति चुकेको छ भन्ने प्रस्ट देखाउँछ । यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले प्रचारप्रसार नभएकै कारण दर्शक नभएको स्वीकार गरे । केन्द्रबाटै सबै व्यवस्थापन हुने भएकाले प्रचारमै चुकेको उनले बताए ।

बुटवल प्रवेशद्वार नाकामा केही प्रचार गरेपनि त्यो प्रयाप्त नभएको उनको भनाई छ । उनले तराईको चर्को घामका कारणले पनि दर्शक नआएको हुन सक्ने बताए ।

प्रतिक्रिया