आठौँ राष्ट्रिय खेलकुदको भव्य उद्घाटन 

बाँके । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । नेपालगञ्ज रंगशालामा बिहिबार साँझ विशेष कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्या देवी भण्डारीले गरिन् । उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, प्रदेश पाँचका मुख्य मन्त्रि शंकर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटनको अवसरमा विभिन्न कसिमको झाकी प्रदर्शन गरिनुका साथै खेलाडीले मार्च पास गरेका थिए । यस्तै उद्घाटन अवसरमा आतिशबाजी समेत गरिएको थियो । आठौँ राष्ट्रियमा विभिन्न ३५ खेल समावेश गरिएको छ । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएका छन् ।

आठौँ राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुनेछन् । ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका भिडन्त हुनेछन् । प्रतियोगिताको खेलहरू भने चैत २७ गतेबाट नै सुरु भइसकेको छ । र, आठौं अन्तर्गत १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया