पत्रकार धर्नामा

धादिङ । विद्युतीय कारोवार ऐन दफा ४७ र ४८ खारेजीको माग गर्दै धादिङका पत्रकारहरू जिल्ला प्रशाशन कार्यालय गेटमा धर्ना बसेका छन् ।

समाचार लेखेकै कारण पटकपटक पत्रकारमाथि धरपकड तथा पक्राउ गर्ने क्रम बढेपछि बिहीबार निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा नगर्न आग्रह गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा जिल्ला प्रशासन कार्यालय धादिङको गेटमा पत्रकारहरू धर्ना बसेका हुन् ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको नेतृत्वमा बिहान साढे ९ देखि साढे १० बजेसम्म धर्ना बसेका थिए । धर्ना कार्यक्रम समापन गर्दै धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले शुक्रबार बस्ने पत्रकार महासंघ केन्द्रको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र त्यो आन्दोलनमा सहभागिता र ऐकबद्धता जनाउनसमेत जिल्लाका पत्रकारहरूलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ धादिङले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेज गर्न तथा समाचार लेखेकै कारण पोखरामा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाइको समेत माग गरेको थियो ।

कार्यालय समयभन्दा अगाडि ९ः३० बजेदेखि नै पत्रकारले गेटै अघी धर्नामा बसेका कारण कार्यालय समयमा जिल्ला प्रशासन कार्यालय धादिङका अधिकांश कर्मचारीहरूले समेत कार्यालयमा प्रवेश गर्न पाएका थिएनन् । धर्नाकै कारण प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय समेत प्रशासन गेटमै साढे १० बजेसम्म रोकिएका थिए ।

०००

प्रतिक्रिया