पाठ्यपुस्तक नपुग्दा भर्नामा समस्या

सल्यान । सल्यानको एक नगरपालिका भित्रका करिब ६० विद्यालयमा अझै पनि पाठ्यपुस्तक पुगेको छैन । नयाँ शैक्षिक सत्रका लागि विद्यालयले पाठ्यपुस्तक खरिद गर्न नसक्दा विद्यार्थीलाई अन्योलता छाएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले अहिलेसम्म पाठ्यपुस्तक खरिद गर्ने रकम कुनै पनि विद्यालयको खातामा नपठाएपपिछ समस्या सिर्जना भएको हो ।

सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निःशुल्क रूपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरेको छ । तैपनि स्थानीय सरकारले शिक्षा क्षेत्रमा खासै चासो न देखाएको स्थानीयको गुनासो रहेको छ ।

विद्यालयले पुस्तक खरिद गर्न नसकेपछि विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरू भर्ना भएर रित्तो हात फर्किने गरेका छन् । विद्यार्थी भर्ना गर्दै हातहातमा किताब दिने वेला विद्यालयले विद्यार्थीहरूलाई भर्ना गर्दै खाली हात घर फर्काउने गरेको कृष्ण मावि संग्रहीका प्रअ मोहनकुमार रोकायले बताए ।

उनले गाउँपालिकाले पुस्तक खरिद गर्न रकम नपठाएकाले समस्या सिर्जना भएको गुनासो गरेका छन् । ‘नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तिमा एक महिना अगाडि नयाँ पाठ्यपुस्तक खरिदका लागि नगरपालिकाले पाठ्यपुस्तक खरिद गर्ने रकम विद्यालयलाई उपलब्ध नगराएपछि यस्तो समस्या आएको हो’, उनले भने ।

यस्तै प्रभाकर मावि देवस्थलका प्रअ शिखरकुमार यरीले पनि विद्यालयमा भर्ना हुन आउने क्रम जारी रहे पनि किताब कहिले पाउँछौँ भन्ने प्रश्नको जवाफ दिन नसकिरहेको बताए ।

‘विद्यालयको खातामा पैसा नहुँदा किताब खरिद गर्न सकेका छैनौँ’, उनले भने, ‘उधारोमा पुस्तक खरिद गर्न खोज्यौँ तर व्यापारीले दिन मानेनन्, त्यसैले अहिलेलाइ खाली विद्यार्थी भर्ना मात्रै गरिरहेका छौँ ।’ समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन नसक्ने अवस्था सिर्जना भएकोले पठनपाठनमा समेत समस्या आउने उनको भनाइ रहेको छ ।

नयाँ शैक्षिक सत्र सुरुभए पनि समयमै विद्यालयमा पाठ्यपुस्तक खरिद हुन नसक्दा भर्ना अभियानसमेत प्रभावित भएको छ । जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा प्रमुखहरू नै भर्ना अभियानमा सहभागी भई विद्यार्थी भाइबहिनीहरूलाइ पूmलमालाले स्वागत गरिरहँदा यहाँ भने भर्ना अभियानमा त्यति चासो देखिँदैन ।

विद्यालयमा पाठ्यपुस्तक खरिद गर्न नसकिरहेको विद्यालयले कसरी भर्ना अभियान चलाउनु भनेर कुनै अभियानको थालनी नै नगरेको विद्यालयका शिक्षकहरू बताउँछन् । केही विद्यालयले भने व्यापारीसँग उधारोमा पाठ्यपुस्तक खरिद गरेका छन् । जम्मा ६५ सामुदायिक विद्यालय रहेको यस नगरपालिकामा ५÷६ विद्यालयले मात्र उधारोमा पुस्तक खरिद गरेको बताइएको छ ।

सल्लीबजारमा रहेको साझाको विक्रेता भानु स्टेसनरीमा हालसम्म दुई वटा विद्यालयले मात्रै पुस्तक लिएको र बाँकी ६४ वटा विद्यालयले पाठ्यपुस्तक नलिएको तथ्यांक छ । पुस्तक खरिद गर्नेमा त्रिभुवन जनता मावि शंखपीपल च्युरा र फुर्खेसल्ली निमावि बामेले मात्रै पुस्तक लिएको प्रोपाइटर तिलक बुढाले जानकारी दिए । यस्तै उधारोमा व्यापारीसँग कुरा मिलाएर अन्य स्थानबाट पनि एक÷दुइ विद्यालयले पुस्तक खरिद गरेका छन् ।

गत १४ चैतमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली सरुवा भएर गएपछि अहिलेसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नआएकाले विद्यालयको खातामा रकम जम्मा गर्न नसकेको नगरप्रमुख गोविन्दकुमार पुनले जानकारी दिएका छन् ।

‘हामीले यहाँका सबै विद्यालयका प्रअलाई व्यापारीसँग उधारोमा पाठ्यपुस्तक खरिद गर्नुहोस् भनेका छौँ’, नगरप्रमुख पुनले भने, ‘कतिपयले खरिद गरी पनि सकेको जानकारी हामीकहाँ आएको छ । अहिले यसरी काम चल्यो भने प्रमुख प्रशासकीय अधिकृत आउने बित्तिकै खाता सञ्चालन गरी रकम जम्मा गर्नेछौँ ।’

उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन अझै डेढ साता लाग्ने बताउँदै कर्मचारी नआउँदासम्म पाठ्यपुस्तकको पैसा विद्यालयको खातामा जम्मा गर्न नसकिने बताए । प्रमुख प्रशासकीय अधिकृत डेढ सातापछि आइहाले पनि किताब खरिदको कुनै प्रक्रिया अगाडि नबढेकाले विद्यालयको हातमा पाठ्यपुस्तक पुग्न अझँै डेढ महिना लाग्न सक्ने देखिन्छ । विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावित हुने भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया