फेरिएन ऐतिहासिक सम्पदाको मुहार

काठमाडौं । बिहीबार विश्व सम्पदा दिवस नेपालमा पनि धुमधामका साथ विविध कार्यक्रम गरी मनाइएको छ । यसरी बर्सेनि सम्पदा दिवस मनाइरहे पनि विश्व सम्पदामा सूचीकृत सम्पदा नै बेहालको स्थितिमा छन् ।

१२ वैशाख ०७२ सालको भूकम्पले अधिकांश सम्पदा क्षतिग्रत भए । कति त माटामै मिले भने कतिपय आकृति मात्र बाँकी रहेको अवस्थामा थिए । सरकारलगायत सम्पदा प्रेमीहरूले पुरातात्विक महत्वका ती धरोहरहरूलाई पुरानै शैलिमा ठढ्याउने प्रतिबद्धता जनाएको पनि चार वर्ष नाघिसकेको छ ।

बिहीबार वसन्तपुरमा विश्व सम्पदा दिवसको अवसरमा सरकारी पदधिकारी तथा गैरसरकारी निकायका व्यक्तिले सम्पदाको महत्वबारे झन्डै दुई घण्टा भाषण गरे । ती भाषण गर्नेहरूलाई नजिकै भग्नावशेष अवस्थामा रहेका सम्पदाहरूले नै गिज्याइ रहेको भान हुन्थो ।

ती कागजी विकास, नारा र प्रभातफेरी भाषणमा मात्र सीमित भएको स्वयं सम्पदाले बताइरहेका छन् । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा मनाउने यो दिवस नेपालमा पनि मनाइँदै आइएको छ ।

भूकम्पपछि पनि चारपटक सो दिवस मनाइसकिएको छ । सम्पदा संरक्षण प्रवद्र्धन गर्ने नारा बर्सेनि सुनाइन्छ । यता सम्पदाले भने हालसम्म पनि संरक्षण पाउन सकेको छैन । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको थियो ।

विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेका दुई सम्पदा हनुमानढोका दरबार क्षेत्र र स्वयम्भू स्तुपा जोड्ने ‘सम्पदा मार्ग’ को गुरुयोजना समेत सार्वजनिक गरेको छ ।

हनुमानढोका दरबार क्षेत्रमा गुरु योजनासम्बन्धी पुस्तिका सार्वजनिक गर्दै महानगरपालिकाले ‘सम्पदा मार्ग’ को गुरुयोजना तयार भएको जानकारी दिएको थियो ।

काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पर्यटन वर्ष २०२० लाई लक्षित गरी उक्त ‘सम्पदा मार्ग’ को गुरुयोजना तयार पारेको बताएका थिए । ‘काठमाडौं महानगर सम्पदा नै सम्पदाको सहर हो,’ उनले भने, ‘अहिले पनि कतिपय मूर्त सम्पदाहरू ओझेलमा परेका छन् । यी सम्पदाको संरक्षण गर्दै आन्तरिक र बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने उद्देश्यसहित हामी अघि बढेका छौँ ।’ उनले थपे, ‘गुरुयोजना त्यसैको सुरुआत हो ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक सहरको परिचय दिई राख्न यस्ता सम्पदाको संरक्षण र जगेर्ना पनि आवश्यक भएको बताए । स्थानीयहरूसँग पनि छलफल गरेर यो पदमार्गभित्र रहेका थुप्रै कलात्मक एवं ऐतिहासिक महत्व बोकेका मन्दिर, चैत्य, ढुंगेधारा, सत्तल, पाटीको पनि संरक्षण गर्दै आकर्षित पदमार्गका रूपमा विकास गर्ने योजना अगाडि बढाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सातौँ शताब्दीदेखिको इतिहास उक्त पदमार्गमा रहेको भन्दै यसले काठमाडौं सहरको परिचय दिनेमा आफू विस्वस्त रहेको बताए ।

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदिजस्ता सम्पदाहरू अवलोकन गर्न सकिनेछ । महानगरपालिकाले ती सम्पदाहरू पहिचान गर्न विभिन्न संकेत चिह्नहरू राख्ने, स्थानीय घरहरूलाई परम्परागत स्वरूपमा ल्याउने, ठाउँ–ठाउँमा स्थानीय पहिचान झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ ।

यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराहरूको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिने छ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने बताइएको छ ।

०७२ को महाभूकम्पले विश्व सम्पदामा सूचीकृत ७ सम्पदा क्षेत्रका १ सय ७३ सम्पदामा क्षति पुगेको थियो । हनुमानढोका दरबार परिसरमा भूकम्पले २९ सम्पदामा क्षति पु¥याएको थियो । त्यसैगरी, स्वयम्भू विश्व सम्पदास्थलमा भूकम्पले १८ सम्पदामा क्षति पु¥याएको थियो ।

विश्वसम्पदा सूचीमा सूचिकृत पाटन क्षेत्रमा भूकम्पले ३० वटा सम्पदामा क्षति पु¥याएको थियो । त्यसैगरी, भक्तपुर क्षेत्रमा अवस्थित विभिन्न २१ सम्पदा भूकम्पले क्षति पुगेका थिए । पशुपति क्षेत्रका १ सय ५ वटा सम्पदामा क्षति पु¥याएको थियो । वर्षको एकदिन सम्पदाको नारा लगाए ,सम्पदा संरक्षण प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए पनि सम्पदाको मुहार फेरिएको छैन ।

यसरी विगत चारवर्षदेखि सम्पदाप्रेमीको नाम दिनेका नाम फेरियो, सरकार फेरियो । तर, ती ढलेका सम्पदाको मुहार अझै फेरिएको छैन । ती भग्नावशेष अवस्थामा रहेको सम्पदा हालसम्म पनि संरक्षणको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया