१४ जनाले चढे पाल्दोर हिमाल

धादिङ । पाँच नेपालीसहित १४ जनाले ५ हजार ९ सय ३ मिटर अग्लो पाल्दोर हिमाल सफल आरोहण गरेका छन् । सात जना कोरियन, दुई जना मंगोलियन र पाँच जना नेपालीले गणेश हिमाल छेउमा रहेको पाल्दोर (पाविल) हिमाल आरोहण गरेका हुन् ।

‘धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाल्दोर हिमालको सफल आरोहण गरिएको हो ’ नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले भने, ‘आरोहण टोलीले पाल्दोर हिमाल चुचुरोमा पर्यटन वर्ष २०२० को लोगो अंकित झन्डा फहराएका छन् ।’

आरोहण टोली चैत २४ मा काठमाडौंबाट हिँडेर धादिङको गल्छी, नुवाकोट, रसुवा स्याफ्रुबेँसी, गत्लाङ, सोम्दाङ, रुबिभ्याली हुँदै ५ हजार ९ सय ३ मिटरको उचाइ रहेको पाल्दोर पिक पुगी २ वैशाख ०७६ मा काठमाडौं फर्किएको हो । टोलीले संयुक्त रूपमा आरोहण गरेको यो दोस्रोपटक हो । यसअघि सन् २०१० मा पाल्दोरमै संयुक्त आरोहण गरिएको थियो ।

संयुक्त आरोहण गर्दा एक अर्काका सीप तथा कला सिक्ने अवसर पनि पाउने गुरुङको भनाइ छ । पाल्दोर हिमालमा हालसम्म तीन सयभन्दा बढी आरोहीले आरोहण गरिसकेको पर्वतारोहण महासंघको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया