प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छः मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको एक प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा मन्त्री बाँस्कोटाले पछिल्लो पटक ‘ताण्डवन्यूज डटकम’का सम्पादक अर्जुन गिरीलाई पक्राउ गर्नु दुःखद घटना भएको बताए ।सोही अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रकाशित र प्रसारित समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोवार ऐनअन्तर्गत पक्राउ गर्न नहुने बताए ।

महांघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गर्दै मन्त्री बाँस्कोटा समक्ष ज्ञापन पत्र समेत प्रस्तुत गरेको छ । महासंघले गृह मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया