नरेन्द्र मोदीले जिते पाकिस्तानलाई के फाइदा ?

नयाँदिल्ली । पाकिस्तानी प्रधानमन्त्रीले हालै पत्रकारहरूसँग कुरा गर्ने क्रममा भारतमा सत्तारूढ भारतीय जनता पार्टी पुनः विजयी भए ‘शान्ति वार्ताको सम्भावना बढी हुने’ बताए । इमरान खानको तर्क छ – हिन्दू राष्ट्रवादी बिजेपीको तुलनामा विपक्षी कंग्रेस आई कस्मिर मुद्दाबारे कुरा गर्न हिच्किचाउँछ ।

हुन त पाकिस्तानी प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई विभिन्न तरिकाले हेरिँदैछ । कंग्रेसले ‘पाकिस्तानको भाषा बोल्ने’ गरेको बिजेपीको आरोप रहिआएको छ, तर इमरान खनाको पछिल्लो अभिव्यक्तिले बिजेपी र पाकिस्तानबीच साठगाँठ छ भन्ने मौका कंग्रेसलाई पनि दिएको छ ।

एउटा तर्क यो पनि छ कि त्यस्तो अभिव्यक्ति दिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका विपक्षी दलहरूलाई सहयोग गरेका छन् । तर इमरान खानले जे भने त्यो कत्तिको साँचो छ र त्यसको अर्थ के हो ?

प्रश्न उठ्छ, के इमरान खान साँच्चै नरेन्द्र मोदी दोस्रोपटक भारतीय प्रधानमन्त्री बनून् भन्ने चाहन्छन् ? पाकिस्तान एउटा इस्लामिक मुलुक हो भने भारत धर्मनिरपेक्ष । अर्कोतर्फ भारतमा बिजेपीले धर्मनिरपेक्षतालाई कमजोर बनाएको एउटा तप्काको बुझाइ छ ।

यो पृष्ठभूमिमा के इमरान खानले शान्तिवार्ताको सम्भावनाका कारण मात्रै मोदी दोस्रोपटक प्रधानमन्त्री बनेको देख्न चाहेका हुन् त ? पाकिस्तानी इतिहासकार मुबारक अलीको नजरमा त्यहाँका सत्तारूढ दल र जिहादी समूहले भारतमा बिजेपी सत्तामा रहिरहोस् भन्ने चिताउनु कुनै आश्चर्यको कुरा होइन ।

उनी भन्छन्, ‘पाकिस्तान र भारत दुवै देशमा अतिवादी छन् । पाकिस्तामा एउटा आमबुझाइ के छ भन्ने दुईवटा अतिवादी मिलेपछि सही निर्णय पनि गर्न सक्छन् ।’

‘पाकिस्तानलाई लाग्छ भारतमा अतिवादी शासक भएमा उसले लोकतान्त्रिक मूल्यलाई बेवास्ता गर्न सक्छ र नागरिकको विचारलाई उपेक्षा आफ्नो विचार लाद्न सक्छ ।’ उनी थप्छन्, ‘पाकिस्तानका अधिकांश दल अतिवादी छन् र भारतविरोधी भावना जगाइराख्न भारतमा हिन्दू राष्ट्रवादी बिजेपी सत्तामा रहँदा उनीहरूलाई फाइदा पुग्छ ।’

सत्तामा हुँदा बिजेपीले कस्मिर मुद्दामा वार्ताका लागि ठोस पहल गरेको यथार्थ हो जुन कंग्रेस सत्तामा रहँदा गर्न सकेन । अटल बिहारी बाजपेयीको गठबन्धन सरकार हुँदा उनी बस चढेर पाकिस्तान पुगेका थिए ।

बाजपेयीपछि १० वर्ष कंग्रेसले सरकार चलाए पनि प्रधानमन्त्री मनमोहन सिंह कहिल्यै पाकिस्तान गएनन् । अर्कोतर्फ प्रधानमन्त्री बनेको एक वर्ष पनि नहुँदै विना कुनै घोषणा मोदी पाकिस्तान पुगेका थिए ।

कस्मिरलाई लिएर दुई देशमा भावनाहरूबीच ध्रुवीकरण निकै बलियो छ । र, दुवै देशका सत्तारूढ दलका लागि यो ध्रुवीकरण फाइदाजनक छ । भारतमा बिजेपी सत्तामा हुँदा मूलधारको राजनीतिमा जिहादी समूहको सक्रियतालाई उचित ठहराउन पाकिस्तानलाई सघाउ पुग्छ भन्ने कतिपयको बुझाइ छ ।

मुबारक अली भन्छन्, ‘भारतमा बिजेपीको शासनमा मुस्लिमविरुद्ध केही हुँदा पाकिस्तानीहरूले अली जिन्नाले छुट्टै देश बनाएर ठिक गरे भनेर भन्छन् । पाकिस्तान नबनेको भए सबै मुस्लिमप्रति त्यस्तै व्यवहार हुन्थ्यो भनेर उनीहरू भन्न थाल्छन् ।’

‘पाकिस्तानमा सत्तारूढ दलहरूलाई बलियो तर्क मिल्न पुग्छ । जिहादी सङ्गठनहरू पनि धर्मका आधारमा भारतलाई विभाजन गर्नु आवश्यक थियो भन्ने तर्क गर्न थाल्छन् ।’ अर्कोतर्फ पाकिस्तानमा हिन्दूहरूमाथि अत्याचार हुँदा बिजेपीलाई त्यो मन पर्छ किनकि, त्यसलाई आधार बनाएर मुस्लिमविरुद्ध हिन्दूहरूलाई एकबद्ध बनाउने मुद्दा उसले पाउँछ ।

उनी भन्छन्, ‘पाकिस्तानमा कम संख्यामा मात्र हिन्दू बाँकी छन् र उनीहरूमध्ये अधिकांश दयनीय अवस्थामा छन् । हिन्दूहरूलाई धम्काएर पाकिस्तानमा मुस्लिमहरूलाई एकबद्ध बनाउने आधार सत्तारूढ दललाई चाहिँ प्राप्त हुँदैन । उक्त पृष्ठभूमिमा पाकिस्तानका सत्तारूढ दलहरू भारतमा मुस्लिमविरुद्ध हुने घटनालाई प्रयोग गर्छन् ।’

के बिजेपी सत्तामा हुँदा पाकिस्तानका जिहादी समूहले आफ्नो औचित्य पुष्टि गर्न पाउँछन् ? यो प्रश्नको जवाफमा बिजेपी नेता सेसाद्री चारी भन्छन्, ‘पाकिस्तानले आफ्नै मुस्लिमबारे चिन्ता लेओस् । हिन्दूहरूको सुरक्षाको अपेक्षा उनीहरूबाट गर्न सकिँदैन । इमरान खानले चाहेर मोदी फेरि प्रधानमन्त्री बन्ने होइनन् । यहाँका जनताले मोदीलाई प्रधानमन्त्री बनाउनेछन् ।’

तर, भारतमा गाईको मासु खाएको भन्दै मुस्लिमलाई कुटपिट गरिँदा र सम्झौता बमकाण्डमा कसैले सजाय नपाउँदा त्यसलाई पाकिस्तानी जिहादी समूहले आफ्नो औचित्य पुष्टि गर्दैन ? नेता सेसाद्री चारी भन्छन्, ‘भारतमा मुस्लिमहरू निकै खुसी छन् । सम्झौता बमकाण्डमा अदालतले निर्णय सुनाएको छ र हामीलाई त्यो स्वीकार्य छ । अघिल्लो सरकारले कैयौँ मानिसमाथि फर्जी मुद्दा चलाएको थियो । पाकिस्तानमा हिन्दूको कुरा छाड्नूस्, सिया मुस्लिम र अहमदिया नै सुरक्षित छैनन् ।’

मुबारक अलीको भनाइमा दुवै देशमा अतिवादलाई सघाउने मानिसहरूलाई अल्पसंख्यकविरुद्ध हुने अन्यायबाट फाइदा पुग्छ । उनी भन्छन्, ‘पाकिस्तानमा भारतविरोधी भावनाका लागि भारतमा मुस्लिमविरोधी सरकार हुन आवश्यक छ र पाकिस्तानमा भारतविरोधी भावना सत्तारूढ पार्टीहरूका लागि निकै उपयोगी हुन्छ ।’

‘त्यसैगरी, भारतमा पाकिस्तानविरोधी भावनालाई यहाँका हिन्दूमाथि हुने अत्याचारबाट मलजल पुग्छ अर्थात् दुवै देशमा अल्पसंख्यकप्रति हुने अन्याय दुवै देशका अतिवादीहरूको हितमा हुन्छ ।’

प्रतिक्रिया