धरहराको माटो टुँडिखेलमा

काठमाडौंं । काठमाडौंंको मुटुमा अवस्थित टुँडिखेलमा माटोको थुप्रो पहाडजस्तै देखिन्छ । गिट्टी र बालुवाको थुप्रोबाट बनेको टुँडिखेलमा माटोको पहाड किन बन्यो भन्नेमा प्रायः अन्जान छन् ।

टुँडिखेलमा ढुंगा, माटो, गिट्टी र बालुको भिन्दाभिन्दै थुप्रा छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलोको सास्ती त्यहाँ वरिपरि बसोबास गर्ने र हिँड्ने व्यक्तिले व्यहोर्नु परेको छ ।

‘यहाँ एकै रातमा माटो थुपारेको देख्दा हामी चकित थियौँ ।’ टुँडिखेल परिसरमा चिया बेच्दै गरेका स्थानीय गंगा श्रेष्ठले भने, ‘पानी पर्दा त ठीकै छ, तर हिलो सुकेर धुलोमा परिणत हुँदा निकै आपत आउँछ । यहाँको माटो कहिले हटाउने कुनै अत्तोपत्तो छैन ।’ सरकार र निर्माण कम्पनीले जथाभावी त्यहाँ माटो थुपारेको र यसको परिणाम आफूहरूले भोग्नुपरेको भन्दै श्रेष्ठले आक्रोश पनि पोखे । यस्तो आक्रोश पोख्ने गंगा मात्र होइनन् । गंगाजस्तै अन्य व्यक्तिले पनि माटोको कारण व्यहोर्नुपरेको सास्तीको आक्रोश पाख्ने गरेका छन् । टुँडिखेलको माटाले धुलो मात्र होइन, त्यहाँको शोभा पनि घटाएको स्थानीयको गुनासो छ ।

यता, निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका अनुसार भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको निर्माण कार्य सुरु भएसँगै धरहराको माटो यहाँ थुपारिएको हो ।

त्यहाँ थुपारिएको माटो धरहरा ‘साइट क्लियरेन्स’ को हो । धरहराको जग खन्दा निस्केको माटो त्यहाँ थुप्रार्ने अनुमति आफूहरूले पुनर्निर्माण प्राधिकरणबाट पाइसकेको उनको भनाइ छ । ‘त्यहाँ थुपारिएको सबै माटो धरहराकै हो । अब छिट्टै टुँडिखेल खाली गर्ने प्रक्रियामा छौँ’, स्थानीयले भने ।

१२ वैशाख ०७२ सालको भूकम्पले ढलेको धरहरा पुनर्निर्माण कार्य सुरु भएको चार महिना बितिसकेको छ । लामो समयपछिको विवाद र स्थानीयका कारण धरहरा निर्माण कार्यमा ढिलाइ भएको थियो । निर्माण कार्यको जिम्मा पाएको रमन कन्स्ट्रक्सन र चिनियाँ कम्पनीले पुस पहिलो सातादेखि कार्य सुरु गरेको थियो ।

दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको निर्माण कार्यको कुल लागत ३ अर्ब ४८ करोड रहेको छ । निर्माणाधीन धरहरा २२ तलाको हुनेछ भने यसले २८ रोपनी जग्गा ओगट्ने बताइएको छ ।

भूकम्पले ढलेको ऐतिहासिक धरहरा पुनर्निर्माण संकल्पअन्तर्गत प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा, म बनाउँछु’ अभियान थालेका थिए ।

प्रतिक्रिया