एक्काइस तालिबानी सशस्त्र विद्रोही मारिए, २१ गाउँ पुनः कब्जा

घाज्नी, एजेन्सी । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबानी लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ त्यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिएका छन् । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानून अनुसार सो गाउँ तालिबानको नियन्त्रणबाट फर्काउने क्रममा तालिबानका कमाण्डर काजी हसनसहित नौ जना तालिबान लडाकू मारिएका छन् ।

त्यसैगरी गिलान कराबाघ र आब्जा ओमारी जिल्लाका २० भन्दा बढी गाउँमा गरिएको कारबाहीको क्रममा एक दर्जन भन्दा बढी तालिबान लडाकू मारिएका छन् । यस कारबाहीमा करिब २१ ओटा गाउँ प्रहरीले तालिबानबाट पुनः नियन्त्रणमा लिएको बताइएको छ ।

यस कारबाहीमा करिब एक दर्जन व्यक्ति घाइते भएको पनि बताइएको छ । उक्त कारबाहीबारे अफगानिस्तानको सेनाले विज्ञप्ति प्रकाशन गरी जानकारी गराएको छ । त्यस कारबाहीका क्रममा अफगानिस्तानको सुरक्षा निकायका अधिकारी के कति हताहत भए भन्ने बारेमा भने केही बताइएको छैन ।

अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिबानले गएको शुक्रबारबाट सरकारका विरुद्धको आक्रामक कारबाही भनी घोषितरुपमा नै आक्रमण गरिरहेका छन् । उनीहरुले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मी र अरु सर्वसाधारणलाई पनि आक्रमणको निसाना बनाएका बताइएको छ ।

केही समयअघि अमेरिकी अगुवाईमा अफगानिस्तानका तालिबानसँग शान्ति वार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन । त्यसपछि तालिबानले यस्तो कारबाही थालका हुन् ।

प्रतिक्रिया