सामुदायिक वनमा अम्रिसो खेती सुरु

सल्यान । सल्यानको कालीमाटी गाउँपालिका–३ मा रहेको एक सामुदायिक वनमा अम्रिसो खेती गर्न सुरु गरिएको छ । आर्थिक आयआर्जन बढाउन यहाँका सामुदायिक वनका उपभोक्ताहरु पछिल्लो समय अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

सामुदायिक वनको खाली र नांगो डाँडोमा सामान्य मिहिनेतमा अम्रिसो खेती गरेर मनग्य आम्दानी गर्न थालेपछि आकर्षण बढेको धनारी सामुदायिक वन उपभोक्ता समिति कालिमाटी गाउँपालिका–३ का अध्यक्ष नैनसिंह थापाले बताए । गत वर्ष ६ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती सुरु गरी यो वर्षबाट आम्दानी लिन थालिएको उनको भनाइ छ ।

अम्रिसोको माग पछिल्लो समय बढ्दै गएपछि सामुदायिक वनका उपभोक्ता अम्रिसोमा आकर्षित भएका हुन । यहाँको २ सय ४१ हेक्टर क्षेत्रफल मध्ये पहिलो वर्ष ६ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती सुरु गरेको स्थानीय मानबहादुर खत्रीले जानकारी दिएका छन् ।

सामुदायिक वनमा आवद्ध १० विपन्न परिवारलाई पाँच वर्षका लागि अम्रिसो खेती गर्न जग्गा भाडामा दिइएको खत्रीले बताए । समुदायका अति विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि गैर कृषि उत्पादनका जमिन भाडामा दिएको खत्रीको भनाइ छ । उनले भने ६ हेक्टर क्षेत्रफलमा झन्डै २० हजारभन्दा बढी अम्रिसोको बिरुवा लगाइएको छ ।

सामुदायिक वनमा अम्रिसो खेती गरी रहेकी गंगा विकले पहिलो वर्षमा नै एक सयभन्दा बढी अम्रिसोको कुचो बिक्री भइसकेको बताइन् । कुचो बिक्रीबाट भएको आम्दानी घुम्ती कोषमा जम्मा गर्ने गरेको उनको भनाइ छ । ‘घुम्ती कोषबाट रकम लिएर घर खर्च चलाउने गरेका छौँ’, उनले भनिन्, अहिले अम्रिसोको उत्पादन फस्टाउँदै गएको छ आम्दानी बर्सेनि बढ्दै जाने विश्वास लिएका छौँ ।’

‘वनमा लगाएको अम्रिसोले अहिले जंगल नै ढाक्न थालेको छ । अम्रिसोले जगल नै ढाक्न थालेपछि आपूmलाई थप हौसला बढेको छ’, उनले भनिन्, ‘अम्रिसो खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ भनेर पहल कार्यक्रमले सिकाएको हो र हामीलाई ५८ हजार बराबरको अम्रिसोको विरुवा प्युठानबाट ल्याएर दिएको हो ।’

भारतका विभिन्न स्थानमा मजदुरी गर्दा धेरै दुःख पाएका कारण गाउँमै आएर अम्रिसो खेतीमा लागेको दिलबहादुर नेपालीले बताए । ‘गतवर्ष मात्र लगाएको अम्रिसो चारैतिर फैलिएको छ’, उनले भने, ‘अर्को वर्षदेखि अम्रिसोको कुचाबाट मात्र नभएर बेर्नाबाट पनि आम्दानी लिने आशा गरेका छौँ ।’

बजारको समस्या नभएका अम्रिसो खेती निकै उपयोगी देखिएको स्थानीय मायादेवी सारुले बताइन् । कालिमाटी क्षेत्र अम्रिसो खेतीका लागि उपयुक्त भएकाले पनि अहिले अन्य सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरू अवलोकनका लागि आउने गरेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया