प्रशासकीयको घर खोज्दै जनता

स्याङ्जा । समायोजनले कता लैजान्छ ? म त संघमा परेँ … म त प्रदेशमा परेँ …पत्र कहिले बुझिन्छ यो शब्द अहिले सरकारी कार्यालयको निकै लोकप्रिय शब्द बनेको छ । यही समायोजनको नाममा जनताले भने सास्ती पाइरहेका छन् । कर्मचारीले समायोजनमा कता गइन्छ र कहिले पत्र आउने हो भन्दै कुर्ने तर सेवाग्राहीको कामलाई बेवास्था गर्ने समस्या अहिले देशभर छ ।

जनताको अधिकार बोक्दै गाउँगाउँमा आएको सिंहदरबारका प्रमुख कर्मचारी अर्थात प्रमुख प्रसासकीय अधिकृतलाई खोज्दै सेवाग्राही उनकै घरमा जान्छन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, हरिनाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल भट्टराई महिनामा १० दिन कार्यालयमा हुन्छन् ।

भट्टराईले गत १६ मंसिरमा हरिनाश गाउँपालिकाको पत्र बुझे तर गाउँपालिकामा २७ गते मात्र हाजिरी भए । भट्टराइको हाजिरी पुस्तिका हेर्दा मंसिरदेखि चैतसम्म जम्मा ४० दिन मात्र हाजिरी गरेका छन् । उनी स्थायी घर तनहुँ बन्दीपुर भए पनि बसाइँ दमौलीमा छ । उनको बसोवास गर्ने दमौलीस्थित निबासमै पुगेर सही छाप गर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

हरिनाश गाउँपालिका–३, चिसापानीका टेकबहादुर थापा खानेपानीको योजना सम्पन्न भएको काजगात लिएर अन्तिम किस्ता लिन पालिका आउन थालेको एक हप्ता भयो । कार्य सम्पन्न भए पनि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआउँदा उनीजस्तै अधिकांश उपभोक्ता समिति एवंं सेवाग्राही मर्कामा परेका हुन् ।

तर, यहाँका सेवाग्राही भने भट्टराईको निवास खोज्दै तनहुँ पुग्ने गरेको टेकबहादुर थापाले बताए । ‘समयमा काम सम्पन्न भएको छ , अन्तिम किस्ता निकाल्न अब हाकिम सरलाई खोज्दै तनहुँ जानुपर्ने भयो’, थापाजस्तै अन्य सेवाग्राहीको यो समस्या साझा हो । अर्का सेवाग्राही चित्रनारायण मानन्धर पनि योजना सम्पन्न भएसँगै पालिका कागजात बोकेर आए तर कार्यालयका प्रमुख नै नहुँदा जति उमंगको साथ पालिका आएका थिए त्यत्ती निराश भए ।

‘समायोजनको विषयले अप्ठ्यारो पारेको छ । नेपाल सरकारको कर्मचारीले जनतालाई सेवा दिने विषयमा चासो नलिँदा दुःख लागेको छ’, गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताए ।

प्रतिक्रिया