पुटिन र किमबीच भेटवार्ताको तयारी

सियोल । उत्तर कोरियाली नेता किम जोङ अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीले बताएका छन् ।

चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ । स्रोतले योनहापलाई भनेको छ, ‘रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै हुनुहुन्छ । त्यही समयमा दुवै नेताबीच रुसमै भेटवार्ता हुने सम्भावना छ ।’

राष्ट्रपति पुटिन आगामी अप्रिल २६–२७ मा बेइजिङमा आयोजना हुने ‘वान बेल्ट, वान रोड’ अर्थात् बिआरआईको सम्मेलनमा सहभागी हुनुहुनेछ । मस्कोले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन तर रुसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको एक समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो । ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए ।

दुवै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुवै देशका वरिष्ट कुटनीतिक अधिकारीको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ । किम जोङ अनका अति निकट ठानिएका किम चाङ–सोनले गन मार्च १९ देखि २५ सम्म मस्को र भ्लाडिभोस्टकको भ्रमण गरेका थिए । नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्ने गरेका छन् । यसै महिनाको सुरुमा रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङको भ्रमण गरेका थिए । पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रुस भ्रमणको निम्ता दिएका थिए तर भ्रमण हुन सकेको थिएन ।

उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरीको भियतनामको हनोईमा सम्पन्न वार्ता विफल भएसँगै रुससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ । नेता किमले गत वर्षयता नै चीनको चारपटक भ्रमण गरिसकेका छन् । तर, सन् २०११ मा सत्तामा आएपछि नेता किमले रुसको भ्रमण गरेका छैनन् ।

प्रतिक्रिया