जुडोमा मनितालाई स्वर्ण

नेपालगञ्ज । आठौँ खेलकुदअन्तर्गत १६औँ राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् ।
महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश–३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए । महिला ४८ केजीमुनि प्रदेश–५ की सोनिया भट्टले एपिएफकी धनदेवी रोकायालाई हराउँदै पहिलो भइन् । प्रदेश–५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेस्रो भए ।

७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदे– ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेस्रो बने । पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए ।

एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेश्रो स्थानमा चित्त बुझाए । ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश–३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते । एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए । पुरुष ८१ केजीमुनि आर्मीका पवनकुमरा श्रेष्ठ तथा सय केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे ।

फाइनलमा पवनले प्ररहीका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए । ८१ केजीमा एपिएफका लेलिन डंगोल र प्रदेश–२ का गुड्डुकुमार सकानु तथा सय केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया