विकिलिक्सले गरेका ठूला पाँच खुलासा

एजेन्सी, वासिंगटन । अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो ।

४७ वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए । असान्जले अमेरिकी नागरिक चेल्सी म्यानिङसँग मिलेर आफ्नो देशको रक्षा मन्त्रालयको कम्प्युटरमा रहेको गोप्य जानकारी प्राप्त गर्ने षड्यन्त्र गरेको अमेरिकाले आरोप लगाएको छ ।

विकिलिक्स सन् २००६ मा सञ्चालनमा आएको हो । चलचित्र उद्योगदेखि राष्ट्रिय सुरक्षासम्मका विषयमा गोप्य जानकारी प्रकाशन गर्ने हुँदा सो वेबसाइट निकै चर्चित मानिन्छ । सन् २०१० मा विकिलिक्सले प्रकाशन गरेको एउटा भिडिओमा अमेरिकाको सैन्य हेलिकप्टरले इराकको राजधानी बगदादमा सर्वसाधारणलाई मारेको दृश्य छ । हेलिकप्टरभित्रबाट खिचिएको सो भिडिओमा पाइलटलाई सबैलाई मार्न निर्देशन दिइएको पनि सुनिन्छ ।

हेलिकप्टरबाट आक्रमण गर्दै सडकमा रहेका सर्वसाधारणलाई समेत मारेको देख्न सकिन्छ । घाइतेहरूलाई उद्धार गर्न आएको एउटा भ्यानलाई समेत आक्रमण गरिएको छ । उक्त घटनामा रोएटर्स समाचार एजेन्सीका दुई फोटो पत्रकार पनि मारिएका थिए । अमेरिकी सेनामा गोप्य सूचना विश्लेषकका रूपमा कार्यरत चेल्सी म्यानिङले दिएका सयौँ दस्ताबेज विकिलिक्सले प्रकाशन गरेको छ ।

त्यसमध्ये एउटा दस्ताबेजले अफगानिस्तानमा अमेरिकी सेनाले सयौँ सर्वसाधारणलाई कसरी मारेको थियो भन्ने उल्लेख छ । अन्य दस्ताबेजमा इराकमा भन्ठानिएकोभन्दा निकै ठूलो संख्यामा झन्डै ६० हजार सर्वसाधारण मारिएको उल्लेख छ । उक्त दस्ताबेजले इराकी सेनाले बन्दीहरूलाई यातना दिएको समेत पुष्टि गरेको छ ।

प्रकाशन गरिएको दस्ताबेजमा अमेरिकी कूटनीतिज्ञहरूले पठाएका दुई लाख ५० हजारभन्दा बढी सन्देश समाविष्ट थिए । उक्त सन्देशले अमेरिकाले संयुक्त राष्ट्रसंघका प्रमुख अधिकारीहरूको ’बायोग्राफिक र बायोमेट्रिक’ सूचना, डीएनएको नमुना र औँठाछाप पनि संकलन गर्न चाहेको खुलासा गरिदिएको थियो ।

विकिलिक्सले अमेरिकामा सन् २००१ मा सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणका वेला पेजरबाट आदानप्रदान भएका झन्डै पाँच लाख ७३ हजार सन्देश प्रकाशन गरेको थियो । उक्त सन्देशमा सर्वसाधारणले आफ्ना परिवारको सोधखोजदेखि सो ९/११ आतंकवादी हमलाबारे सरकारी निकायहरूको प्रतिक्रियाको विस्तृत विवरण पनि थिए ।
‘राष्ट्रपतिको यात्रा पुनर्विचार गरिएको छ । उनी वासिंगटन फर्किने छैनन् । तर, कहाँ जाने भन्ने निश्चित छैन,’ एउटा सन्देशमा उल्लेख गरिएको छ ।

सन् २०१६ मा विकिलिक्सले अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलरी क्लिन्टनका चुनावप्रचारक जोन पोडेस्टाको अकाउन्ट ह्याक गरेर हजारौँ इमेल प्रकाशन ग¥यो । एउटा इमेलमा पोडेस्टाले अर्का डेमोक्र्याट उम्मेदवार बर्नी स्यान्डर्सलाई ‘मूर्ख’ भनेका थिए ।

त्यस्तै, सिएनएनमा हुने बहसमा सोधिने प्रश्नबारे क्लिन्टनलाई पहिले नै थाहा दिइएको समेत इमेलमा रहेका सूचनाले संकेत गर्छन् । ती इमेलहरू सार्वजनिक भएको समयबारे विचार गर्दा क्लिन्टनलाई बदनाम गर्ने नियत विकिलिक्सको रहेको आरोप लागेको थियो ।

सन् २००८ मा उक्त वेबसाइटले रिपब्लिकन उम्मेदवार सेरा पालिनको याहु इमेल अकाउन्टको विवरण प्रकाशन गरेको थियो । सन् २०१५ मा विकिलिक्सले चलचित्र कम्पनी सोनी पिक्चर्सको एक लाख ७० हजार इमेल र २० हजारभन्दा बढी दस्ताबेज प्रकाशन गरेको थियो ।

उत्तर कोरियामाथि व्यंग्य गरिएको एउटा चलचित्र प्रदर्शनमा ल्याउनुअघि उक्त कम्पनी साइबर हमलामा परेको थियो । इमेलले अमेरिकन हसल नाम गरेको चलचित्रमा पुरुष कलाकारहरूको तुलनामा अभिनेत्रीद्वय जेनिफर लरेन्स र एमी एडम्सले कम पारिश्रमिक पाएको खुलासा गरिदिएको थियो ।

एन्जेलिना जोलीजस्ता कलाकारको पनि अपमान भएको खुलासा भएको थियो । सोनी पिक्चर्सले निर्माण गर्न लागेको चलचित्र अस्वीकार गरेको भन्दै लिओनार्दो डिक्याप्रियोलाई अपमानजनक शब्द प्रयोग गरिएको इमेलले देखाएको थियो ।
बहुराष्ट्रिय कम्पनीको कार्यशैली र भूराजनीतिक संघर्षबारे थाहा पाउन सकिने हुँदा असान्जले उक्त खुलासा सर्वसाधारणको हितमा रहेको दाबी गर्ने गरेका छन् ।

प्रतिक्रिया