हेगले युद्ध अपराधको अनुसन्धान रोक्यो

एजेन्सी, दी हेग । अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धान गर्नेसम्बन्धी एक अनुरोधलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले शुक्रबार अस्वीकार गरेको छ । अदालतको उक्त आदेशको अफगान युद्धमा विगत १७ वर्षदेखि उल्झिएको संयुक्तराज्य अमेरिकाले स्वागत गरेको छ ।

मानव अधिकारवादी समूहहरूले न्यायाधीशको उक्त निर्णयप्रति विमति राखेका छन् । अफगान युद्धबाट प्रताडित हजारौं पीडितको न्यायको खोजीमा अदालतको पछिल्लो आदेशले ठूलो अन्याय भएको अधिकारकर्मीको भनाइ छ । दण्डहीनताको कार्यमा संलग्न विश्वभरका कठोर अपराधीहरूलाई यस आदेशले प्रोत्साहित गर्ने आशंका पनि गरिएको छ ।
‘अहिलेकै परिस्थितिमा अफगानिस्तानमा अनुसन्धान थालनी गर्दा पीडितलाई न्याय दिलाउन कठिन हुने निष्कर्षमा न्यायाधीशहरू पुगेका छन्,’ दी हेगस्थित अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्यायाधीशहरूले अदालतको सीमित बजेटबाट अनुसन्धानलाई निश्कर्षमा पु¥याउन नसकिने बताएका छन् ।

अदालतका अभियोजनकर्ताहरूले सन् २००६ मै सन् २००३ देखि अफगानिस्तानको युद्ध अपराध र मानवताविरुद्धको अपराधको प्रारम्भिक जाँच थालेका थिए । सन् २०१७ मा प्रमुख अभियोजनकर्ता फाटु बेन्सोडाले तालिबान र अफगान सिपाहीविरुद्ध मात्र होइन अमेरिकी सैनिक र अमेरिकी गुप्तचर निकाय सिआइएसहित अन्तर्राष्ट्रिय फौजका क्रियाकलापबारे पूर्ण जाँच गर्न अदालतसमक्ष आग्रह गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत साता अमेरिकी सैनिकको छानबिनमा संलग्न हुने अदालतका कुनै पनि सदस्यलाई भिसा उपलब्ध नगराउने बताएको थियो । अदालतको कामकारबाहीबाट क्रुद्ध अमेरिकी प्रशासनले गाम्बियामा जन्मेका अभियोजनकर्ता बेन्सोडाको भिसासमेत खारेज गरिदिएको थियो ।

‘यो हाम्रो विजय हो । यो विजय हाम्रा देशभक्त सिपाहीहरूका लागि मात्र होइन कानुनी शासनको पनि जित हो,’ ट्रम्पले एउटा वक्तव्यमा बताएका छन् । उनले अदालतमाथिको दबाब अझै बढाउने बताएका छन् । ‘कुनै अमेरिकी, इजरायली वा गठबन्धनका कुनै सदस्य विरुद्ध अभियोग लगाउने वा जाँच गर्ने प्रयत्न गरिए त्यसविरुद्ध तत्काल प्रतिकारबाही गरिनेछ ।’

प्रतिक्रिया