प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई एक कार्यकर्ताको खुलापत्र

डा. लक्ष्मण सिह कुँवर

सम्माननीय प्रधानमन्त्री केपी ओली तथा नेकपा अध्यक्षद्वय

सुशासन, समृद्धि हासिल गर्ने गतिशिलता र पार्टी एकीकरणका बाँकी कार्यलाई यथासक्य चाँडो सम्पन्न होस् भन्ने कामनासहित नयाँ वर्षको शुभकामना ।

गत वर्ष पनि यही पत्रीकामार्फत सम्माननीय प्रधानमंन्त्रीज्यूलाई नयाँ वर्षको शुभकामना सहित ७ बुँदामा ध्यानआर्कषण गराएको थिए । ती ७ बँुदाहरूमा यहाँहरूका ध्यान पुनः आकर्षण गर्दै केही नयाँ विषयवस्तुहरू समेत उल्लेख गर्न चाहान्छु । नेकपा एकीकरणका बाँकी कार्य यथाशिघ्र सम्पन्न हुन र जनताको समृद्धिको प्राप्तिका आधारहरूले झनै गतिशीलता पाउँन भन्नेतीब्र चाहाना सहित प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वयको ध्यान आकर्षण गर्न चाहान्छ् ।

 

१. यहाँहरूले थालनी गर्नुभएको एमाले—माओवादी केन्द्र पार्टी एकीकरण मूलुकको आवश्यकता थियो र छ नै । हाल यो एकीकरण प्रक्रिया नटुंगिनुमा कुनै व्यक्ति विशेष, गुट र उपगुटको स्थार्थ सिद्धिका लागि अवरुद्ध भएको आम बुझाइ रहेको छ । व्यक्ति विशेष, गुट र उपगुटको घेराभन्दा माथि उठी मूलुकको सकारात्मक रूपान्तरण र समृद्धि प्राप्तिमा केन्द्रित हुनका लागी पनि यथासक्य चाँडो एकता प्रक्रिया टुंग्याइनुपर्छ । कम्युनिस्ट पार्टी र कार्यकर्ताको नित्य आचरणमा गतिशीलता एक अपरिहार्य चरित्र हो जुन एक वर्षभन्दा बढी समयदेखि अवरुद्ध छ । यसले पारेको र पार्ने दीर्घकालीन असरहरूलाई अझै नजरअन्दाज गर्दे जाने हो भने नेकपा राजनीतिक र सांगठनिकरूपमा धरासायी हँुदै जाने निश्चित छ । चुनावमा सहभागी र सरकार निर्माण त हाम्रो लक्ष्यमा पुग्ने एक साधन होला तर चुस्त संगठनको माध्यमबाट जनसरोकारका विषयहरूमा जनतासँग एकाकार नभई समाजवादको लक्ष्य कसरी हासिल होला ? तसर्थ कार्यकर्तामा रहेको अन्योलता हटाउँदै कार्यकर्ताहरूलाई ठोस जिम्मेवारीसहित संगठनलाई एकताबद्ध गर्देै गतिशिलता प्रदान गर्न सायद अब ढिलो हुन लाग्यो कि ।

 

२. वाम गठबन्धनको सरकार गठन भएपश्चात् कतिपय नेता एंव कार्यकर्ताहले व्यक्तिगत स्वार्थ पूरा गर्ने अवसरको रूपमा लिएको देखिन्छ । संगठनको आवरणमा व्यक्तिगत, पारिवारिक तथा नातागोताका स्वार्थ पूरा गर्ने लालयित जो कोहीलाई पनि निरुत्साहित गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ । जान वा अन्जानरूपमा कतिपय नेता तथा कार्यकर्ताहरू अर्थलाभमा केद्रित रही बिचौलियाको भूमिकामा समेत संलग्न देखिन्छन् । जसले दलाल पुँजीवादलाई झनै फस्टाउने मौका दिएको देखिन्छ । दलाल पूँजीवादको दरिलो उपस्थिति र यसले झनै फष्टाउन पाउने अवसरले कसरी हाम्रो समाजवाद प्राप्तिको मार्गलाई सहज पार्ला ? तसर्थ दलाल पुँजीवादलाई निरुत्साहित पार्न सरकार मात्र हैन समग्र पार्टी पंक्ति सचेतनाका साथ क्रियाशील हुन आवश्यक छ । दलाल पुँजीवादले देश र आम जनताको अग्रगमनमा सदा सर्वदा अडचन सिर्जना गर्छ भन्नेमा प्रष्ट हुन जरुरी छ । तसर्थ हरेक तहका नेता तथा कार्यकर्ताहरूलाई समाजवाद र हाम्रो चाहाना समृद्धिको बाधक दलाल पुँजीवादलाई निरुत्साहित गर्न ठोस निर्देशन दिनुपर्ने देखिन्छ ।

 

३. देशको राजनीतिक परिवर्तनका लागि प्रतिबन्धित अवस्थामा राजनीतिक दलहरूले कर्मचारी, शिक्षक तथा प्राध्यापकलगायत अन्य क्षेत्रमा कार्यरत जनशक्तिलाई पार्टीमा संगठित गर्ने काम भयो । हाल राजनीतिक पार्टीहरूपिच्छेका संघ, संगठनहरू तथा ट्रेड यूनियनहरूका कृयाकलापहरू राज्यको उत्थानका लागि आवश्यक पर्ने दक्षता र क्षमता अभिवृद्धि गर्नुभन्दा आफूमा संलग्न तथा निकट कार्यकर्ताहरूको सरुवा, बढुवा र पदस्थापनामै केद्रित देखिन्छन् । यो प्रवृत्ति सबै क्षेत्रमा व्याप्त छ । यसमा पनि बिचौलियाको भूमिकामा व्याप्त देखिन्छ । जसले गर्दा सरकारको क्षमता र सेवाग्राहीको अधिकारमा प्रतिकुलता मात्र नभई सुशासनमा प्रश्नहरू उठेका छन् । राजनीतिक लक्ष्य हासिल भई सकेको अवस्थामा सुशासनमार्फत समृद्धि हासिल गर्न जनवर्गीय तथा पेसागत संघ, संगठनहरू मार्फत पनि क्षमता अभिवृद्धिलाई केन्द्र भागमा राखी अगाडी बढ्दा सुशासनमा केही सकारात्मक उपलब्धि हुने थियो की ?राजनीतिक नेतृत्व र कार्यकर्ता तथा प्रशासनिक नेतृत्वको वरीपरि घुमफिर गर्ने कर्मचारीहरूलाई मात्र केन्द्रभागमा राखी परिचालन गर्नु र परिचालित हुनु भन्दा दीर्घकालिन सोचअनुरूप सम्वन्धित क्षेत्रका सरोकारवाला सबैको भूमिकासहितको अभिवृद्धि हुने भरपर्दो प्रणालीको विकास भएमा सुशासन र समृद्धि प्राप्तिको गति बढ्ने आधार सिर्जना हुन सक्छ ।

 

४. वैदेशिक रोजगारका नाममा चालिसौ लाख युवाहरू जोखिमपूर्ण जीवन गुजार्न बाध्य छन् ता पनि हामी प्राप्त विप्रेसणमा निर्भर मात्र हैन गर्व गर्दैछौँ । रोजगार र स्वरोजगारको लागी चाहिने न्यूनतम् वातावरण निर्माण गर्नुभन्दा हामीले हाम्रो श्रमशक्ति निर्यात गर्न गन्तव्य देशहरूको खोजी गर्दै सँझौता गर्देछौँ । श्रमशक्ति निर्यात गर्ने राष्ट्रको समग्र अवस्थामा आएका सकारात्मक उपलब्धिहरू ज्यादै कम छन् । तसर्थ जनसाख्यिक लाभाशंलाई देशमा नै रोजगार र स्वरोजगार सिर्जना गरी राष्ट्रनिर्माणमा क्रमशः सहभागी हुने अवसर सृजना गर्नु आवश्यक छ । यो एक चुनौतीपूर्ण कार्य हो तर यसलाई अवसरमा बदल्न सक्नुमा नै नेतृत्वको क्षमताको पहिचान हुने हो । समाजवाद उन्मुख संमृद्धि हासिल गर्ने भन्ने घोषित लक्ष्य लिएको सरकारले शासन गर्दासमेत हामीले युवा जनशक्तिको मन र विश्वास जित्न सकेका छैनौँ भने हामीमा कहीँ केही कमजोरी छ भनी बुझी सो को निक्र्याैल गरी आवश्यक पहल गर्न जरुरी देखिन्छ । विगतमा गोर्खा भर्ति केन्द्रको विरोध गर्ने हामीहरू सो भर्ति केन्द भन्दा पनि सयौं गुणा तल्लोस्तरको वैदेशिक रोजगारका लागि हाम्रा युवाहरूलाई प्रोत्साहित गर्देछौँ । के यो विडम्बना हैन?

 

५. भू–राजनीति र रणनीतिको हिसाबले ज्यादै महत्व राख्ने यो देशमा अस्थिरता ल्याउन धार्मिक, जातीय तथा क्षेत्रीय विवादहरू सिर्जना गरी आफना स्वार्थ सिद्ध गर्न विगतदेखी नै समानान्तर सरकारको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर संघ सस्थाहरू क्रियाशील छन् । तिनीहरूको उचित व्यवस्थापन र न्यूनतम् निगरानीसमेत गर्न नसक्नु एक सार्वभौम मूलुकका लागि नसुहाउँदो विषयवस्तु बनेको छ । केही महिना अगाडि मात्र ‘अन्तर्राष्ट्रिय शान्ति सम्मेलन’ को नाममा भएका क्रियाकलापहरू राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर संघ संस्थाहरूका प्रारम्भिक चरणहरू हुन सक्छन । तसर्थ आगामी दिनमा त्यस्ता गतिविधिहरू प्रति समयमै सचेत भएमा मात्र पार्टी र सरकारले जनताको थप विश्वास आर्जन गर्ने अवसर मिल्ला ।

 

६. गत वर्षदेखि बोहा सम्मेलनमा नेपालको सहभागीतामा देखिएको क्रम भंगताको दूरगामी असर के पर्ला ? यसको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रभाव के होला भन्नेमा थप चर्चा परिचर्चाहरू सुरु भएका छन् । यसका साथै केही मित्र राष्ट्रहरूका नाममा राष्ट्रपतिद्वार जारी सन्देशमा उचित शब्द चयन नहुँदा देशको शाख गिराउने कामसमेत भयो । यति ठूलो कमजोरी हुँदा न भूल सुधार न सरोकारवाला कसैप्रति सामान्य कारबाही ?देशको सन्तुलित पराराष्ट्र नीति क्रमश कमजोर पार्ने, सरकार र नेकपालाई बदनाम गर्नेहरूको घेरामा त हामी छैनौँ ?

 

७. अहिले राज्य यन्त्र र सरकार सम्बद्ध निकायहरू कमजोर पार्ने, कुनै व्यक्ति विशेष वा संगठनको नाममा व्यक्तिगत, पारिवारिक र नातागत स्वास्र्थ पूरा गर्नेहरूको लर्को नै लागेको देखिन्छ । हिजो पञ्च र कांग्रेसहरूले कमाए अब पालो हाम्रो हो, देश भाँडमा गए जाओस भन्नेहरूको संख्या पनि कम छैन । कम्युनिस्ट मूल्य, मान्यता र आदर्शहरू क्रमिक रूपमा स्खलन हुँदा छन् । मूलतः सरकारी रोजगारीमा सलंग्न हुनेहरूमा हाजिरबापत तलब र अन्य काम गरे वापत थप भत्ता सुविधाको चाहना राख्ने मनस्थिति भएकाहरूको संख्या उल्लेख्य देखिन्छ । सेवा प्रदायकहरूमा व्यात यस्ता मनस्थितिले सेवा ग्राहीमा सरकार र नेकपा प्रति क्रमशः वितिष्णा बढ्ने क्रम देखिन्छ । सेवा प्रदायकहरूले निश्चित समयमा पूरा गर्नुपर्ने कामको जिम्मेवारी नतोकिनु, मूल्यांकनका लागि मापदण्डको निर्माण र कार्यन्वयन नहुनु, कतिपय क्षमतावान सेवा प्रदायकहरूमा विद्यमान क्षमता ट्रेड यूनियनहरूको भागबण्डा र स्वार्थका अगाडी ओझेलमा पर्ने विद्यमान अवस्थाले आम सरकारी सेवा प्रभावकारी हुन सकेको छैन । सरकारका नीति तथा कार्यक्रमहरू आम जनताका अटुट विश्वासकासाथ लैजानु पर्ने सेवा प्रदायकहरूको यस्ता मनस्थिति र वातावरणले कसरी समाजवाद उन्मूख समृद्धि हासिल होला ?

 

८. कम्युनिस्टको सरकार छ, किसान संघ क्रियाशील पनि छ तर मौन ! वास्तविक किसानहरू कहिले बेच्ने वेलाको तरकारीमा ट्रयाक्टर लगाउँछन् त कहिले दूध सडकमा ल्याएर फाल्छन् । उखु उत्पादन किसानको हाल बेहाल छ । नेपाली उत्पादनले आफ्नै बजार पाउँदैन तर आयतको आकार बढेको बढै छ । यस्तो परिस्थितिको सम्बोधन गर्न नसक्नु र मुकदर्शक भएर मात्र बन्नु निश्चिय पनि हिजो हामीले स्वयं मजदूर र किसानको हक, हित र उत्थानका लागि गरिएका प्रतिबद्धताप्रतिको विचलन हैन र ?

 

९. गत वर्ष यातायत क्षेत्रको सिन्डिकेट ताड्ने, कामको जिम्मा पाएका तर समयमै काम सम्पन्न नगर्ने तथा गुणस्तरहीन काम गर्ने नर्माणा व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धताले सरकारप्रति भरोसा जागेको थियो । सही अर्थमा जनताले ती प्रतिबद्धताहरू कार्यन्वयन भएको देख्न त पाएनन् नै उल्टै सुन प्रकरण र बलात्कार पछिको हत्या काण्डका अभियुक्त पत्ता लगाई कारबाही गर्न नसक्दा सरकार र नेकपाको कार्य क्षमता र दक्षताप्रति प्रश्नहरू आइरहेका छन् । यतिको बलियो सरकार ह्ँदा पनि सार्वजनिक रूपमा गरिएका प्रतिबद्धताहरू पूरा नहुँदा ’जुन जोगी आए पनि कानै चिरेका’ भन्ने हाम्रो उखानले मूर्तरूप पाउने अवस्था नआओस् ।

 

१०. मुलुक थुप्रै समस्याबाट ग्रसित छ, तापनि तपाईहरूको नेतृत्वको वाम सरकारले मुलुकको समृद्धिको यात्रा तय गरेको छ । शायद यक्तिको शक्तिशाली वाम सरकार गठन होेला वा नहोला तो त भविष्यको गर्भमा छ । तर, सरकार र तपाईंहरूका निर्णय क्षमता र क्रियाकलापहरूले देशमा राजनीतिक स्थिरता र जनताको समृद्धिको यात्रा तय गर्ने निश्चित छ । मलाई स्मरण छ एकपटक प्रधानमन्त्रीज्यूले आफ्ना कार्यकर्ताहरूलाई’ प्रतिपक्षको प्रतिवाद गर्न अरिंगालको गोलोले झँै जाई लाग्नू’ भन्ने निर्देशन दिनुभएको थियो । मेरो विचारमा सरकार र नेकपाका कमी कमजोरीहरू सुधार्न तथा कार्यकर्ताहरूमा मौलाउँदै गरेको श्रम नगरी विचौलियको भूमिकाबाट अर्थआर्जन गर्ने तथा दलाल पूँजीवादको क्रमशः अन्त्य गर्न सरकार र नेकपाले एकपटक आफ्ना अरिंगालको गोलो एकपटक आफैँतिर खन्याउँने की ? किनकी अहिलेको अवस्थामा सरकार र नेकपा कमजोर हुने, बदनाम हुने बाह्य कारणहरूभन्दा आन्तरिक कारणहरू नै प्रबल देखिन्छन् ।

 

अन्त्यमा, नेकपालाई प्राप्त यो अवसरलाई सही अर्थमा समाजवाद उन्मुख समृद्धिमा रूपान्तरण गर्न अध्यक्षद्वय चुक्नुहुन्न भन्नेमा विश्वाससहित ।

 

डा. लक्ष्मण सिह कुँवर

सह प्राध्यापक,

पाटन संयुक्त क्याम्पस, त्रिभुवन विश्वविद्यालय

प्रतिक्रिया