महको व्यापारले नै करोडपति भएका चेपाङ

मकवानपुर सिलिगेका दिनेश चेपाङले महको व्यवसाय सुरू गर्दा मोटरधनी भइएला भनेर कल्पना मेत गरेका थिएनन् । अहिले उनले वार्षिक ५० देखि ५५ टन प्रशोधित मह बिक्री गर्दै आएका छन् । पाँच मुठा कूचो बोकेर दुई रुपैयाँमा बेच्न आउँदा गाडीलाई आँखाले देख्दासम्म एकटकले हेरेको वा गाडी नजिकै आउँदा आत्तिएको हिजोझैँ लाग्छ उनलाई । अहिले दिनेश चेपाङसँग बोलेरो जीप, ट्याक्टर र मोटरसाइकल छ ।

सुरूवात
०६४ सालबाट एक हजार रुपैयाँको लगानीमा उनले मह संकलन गर्ने व्यवसाय सुरु गरेका थिए । गाउँमा पालिने परम्परागत सेरेना जातको मौरीको मह सङ्कलन गरी व्यवसाय सुरु गरेका उनले अहिले वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेको बताउँछन । सुरुमा उनले मह सङ्कलन गर्दा चाका मह संकलन गर्ने गरेका थिए तर व्यवसायी भने तरल मह चाहन्थे ।उनी सुनाउँछन्, ‘एक हजार किलो मह बिक्रीका लागि व्यापारीसँग सम्झौता गरे पनि किसानहरूबाट ३ हजार किलो मह संकलन भयो । मैले उनीहरूलाई पैसा कसरी तिर्ने भन्ने दिमाग लगाउनै सकिन । आत्तिएर कोठा छोडेर भाग्नुपर्यो ।‘त्यसले किसानहरूमा झन् गलत सन्देश गएछ । त्यसपछि अन्य व्यापारीले गाउँको चेपाङले के व्यवसाय गर्न सक्छ र ? भनेर खिस्याउन थालेछन्। पहिले नुनसँग मह साट्ने उनीहरूले पछि त्यसो गर्नसमेत रोकेछन् ।

आफ्नै प्रशोधन केन्द्र
पहिले घरमै डेक्चीमै तताएर मह प्रशोधन गर्दै आएका दिनेशको अहिले आफ्नै प्रशोधन केन्द्र छ। उनी सुनाउँछन्, ‘पहिले दुस्ख पनि थियो ५ क्विन्टल मह प्रशोधन गर्न पाँच दिन नै लाग्थ्यो, अहिले ३० मिनेटमा सकिन्छ ।’ पछिल्लो समय उनले गुणस्तरका लागि प्याकेजिङ र लेबलिङ गरेर एक हप्तामा बजार पुर्याउन सकेका छन् ।

यसले परम्परागत रूपमा खेतीपाती गर्ने र कमजोर जीवनस्तर भएका चेपाङ समुदायमा मौरीपालनले थोरै भए पनि परिवर्तन ल्याउन सकेकोमा उनी खुसी व्यक्त गर्छन् । सुरुमा मह संकलन गर्न जाँदा केही किसानले मात्र सेरेना जातको मौरी पालन गर्ने गरेकोमा अहिले गाउँबाट नै मह संकलन हुन थालेको छ । चेपाङ समुदायकै ८४ जना किसानले मेलिफेरा जातको मौरीपालन गर्दै आएका छन् । उनी भन्छन्, ‘अहिले गाउँका किसान मौरीमा नै चढेर उडेझैँ दंग छन्।‘

उनलाई आफ्नो जीवनमा आएको कायापलट अझै पनि सपनाझैँ लाग्छ । यही व्यवसायले ३ छोरीलाई स्थानीय निजी विद्यालयमा पढाएका मात्र छैनन्, एकजना छोरी भारतमा पनि पढाएका छन् । गाउँको भीरपाखा डुलेर घाँस दाउरा गर्नुभन्दा बाहेक अन्य काम गर्न सकिने रहेछ भन्ने आँट आफूहरूलाई मौरी व्यवसायले दिएको दिनेशकी श्रीमती पार्वती गुरुङ बताउँछिन् ।
सिमार गाउँका कमल चेपाङको अनुभव छ, ‘गाउँबाटै मह बिक्री हुन थालेपछि मौरीपालन गर्ने किसानको संख्या बढ्दो छ ।’ आफ्नो गाउँठाउँ नछाडिकनै राम्रो कमाइ गर्न सकिनेमा चेपाङ समुदाय विश्वस्त बन्दै गइरहेको उनी बताउँछन् ।

को हुन् चेपाङ?
अर्धघुमन्ते स्वभावका चेपाङ जातिका थुप्रै पुस्ता गुफा वा अन्य अस्थायी वासस्थलमा बस्ने गर्थे । पछिल्ला केही पुस्ता विस्तारै स्थायी प्रकृतिका घर बनाएर बस्न थालेका हुन् । शिकार वा त्यत्तिकै उब्जाउ हुने वनस्पतिजन्य फलहरू संकलन गर्ने जाति भएकाले पनि उनीहरूको कृषिजन्य व्यवसायमा रैथाने सीप र दक्षताको अभाव देखिन्छ ।

साक्षरता, भूमिमा स्वामित्व र आर्थिक स्रोतजस्ता कुरामा रहेको कमजोर उपस्थितिका कारण उनीहरू सीमान्तकृत समूदायका रूपमा छन् । सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार झण्डै ६८ हजारको संख्यामा रहेका उनीहरू अधिकांशजसो चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा बसोवास गर्छन् । उनीहरूको तीन चौथाइभन्दा बढी जनसंख्या निरक्षर रहेको विभिन्न गणना एवं अध्ययनहरूले देखाएका छन्।

प्रतिक्रिया