‘७२ को विस्मय’ र ‘एघार नोभेम्बर’ माथि विमर्श

राम योङहाङ, इलाम । स्रष्टाद्वय लेखक तथा पत्रकार वसन्त बस्नेतको ‘७२ को विस्मय’ र लेखक काङमाङ नरेश राईको ‘एघार नोभेम्बर’ माथि विमर्श गरिएको छ । सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभाहलमा दुवै कृतिमाथि विमर्श गरिएको हो । ‘फरक आयाम’ नामक साहित्यिक संस्थाको आयोजना भएको कार्यक्रममा लेखक तथा पत्रकार बस्नेतद्वारा लिखित ‘७२ को विस्मय’ ले उत्पीडित मधेसी जनताको आवाज प्रतिविम्बित गरेको विभिन्न वक्ताले जनाए ।

लेखक हाङयुग अज्ञातले बस्नेतको पुस्तक देश र मधेस बुझ्न उपयोगी भएको जिकि रगरे । उनले मधेस आन्दोलनका क्रममा भएका घटनालाई पुस्तकमा यथार्थपूर्ण ढंगले प्रस्तुत गर्दै लेखक बस्नेतले मधेसी र उत्पीडित नागरिकको विभेदलाई उतारेको बताए । उनले भने, ‘राज्य सञ्चालनमा ब्राह्मण र क्षेत्रीबीचको लडाई भइरहेको वेला बस्नेतले मधेस र मधेसीको यथार्थलाई समेटेर कृति लेख्नु महत्वपूर्ण काम भएको छ ।’

मधेसमा भएको भेदभावविरुद्ध आन्दोलन भएको र त्यसलाई पुस्तकले तथ्यगत रूपमा उजागर गरेको उनले दावी गरे । उनले भनmे ‘अझै पनि रङको आधारमा विभेद भइरहेको छ । समानता र न्यायको पक्षमा लाग्न यो कृति उल्लेखनीय रहने विश्वास लिन सकिन्छ ।’ अर्का वक्ता डा. देवी क्षेत्री दुलालले मधेस र मधेसीमाथि विगत लामो समयदेखि विभेद कायम रहेको बताउँदै उनीहरूको आवाजलाई बस्नेतले कृतिमार्फत प्रतिविम्बित गरेको बताए ।

उनले भने, ‘मधेस आन्दोलनलाई तथ्यपूर्ण ढंगमा उजागर गर्दै मधेसमा बस्ने जाति, समुदाय एवं इतिहासको विषयमा लेखिएको यो पुस्तक निकै महत्वपूर्ण रहेको छ ।’ कार्यक्रममा बस्नेतले मूलधारको सञ्चारमाध्यममा रिपोर्टिङ गर्नेक्रममा देखेका अनुभूतिलाई पुस्तकमा समेटेको बताए । उनले देशमा भएका विभिन्न आन्दोलनमध्ये मधेसको विषय निकै पेचिलो ढंगले आएको बताउँदै त्यसको उठान किन र कसरी भयो भन्ने विषयलाई पुस्तकमा समेटेको जानकारी दिए । कार्यक्रमको सहजीकरण साहित्यकार प्रकाश थाम्सुहाङले गरेका थिए । बस्नेतले ०७२ सालका तीन महत्वपूर्ण घटना भुइँचालो, संविधान र नाकाबन्दीको सेरोफेरोमा ‘७२ को विस्मय’ कृति बजारमा ल्याएका हुन् ।

त्यस्तै, अर्का लेखक काङमाङ नरेश राईको ‘एघार नोभेम्बर’ माथि समेत विमर्श गरिएको छ । कथाकार राईले कृतिमा ७ वटा युद्धसम्बन्धी कथा समेटेका छन् । युद्ध साहित्य सिद्धान्तका अभियन्ता राईले प्रथम विश्वयुद्धदेखि अहिलेसम्म गोर्खाली सेनाले भोगेको अनुभूतिलाई उक्त कृतिमा समेटेका छन् । गोर्खाली बेलायती सेनामा भर्ना भएर अर्काको देशका विरुद्ध युद्ध गर्दाको अनुभूतिलाई कृतिमा समेटेको राईले बताए ।

उनले नेपालभित्रको पहिचानको संघर्ष र बाहिर लाहुरेहरूले बेलायतमा गरिरहेको संघर्षलाई कथामा समेटेको बताए । कथामा लाहुरेको चित्र र युद्धमा नेपाली सहभागिताको चित्र पाएको छ । त्यस्तै, युद्धले नेपाली समाजमा पारेको प्रभाव, मानवीय जीवनमा पारेका प्रभाव लगायतका विषय समेटेका छन् । साहित्यकार जितेन मुस्कानले सहजीकरण गरेको कार्यक्रममा वक्ताका रूपमा सुरेन्द्र राई र तीर्थ निरौला रहेका थिए । कार्यक्रम सिर्जनशील अराजकताका अभियन्ता राजन मुकारुङको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया