अर्थबजार

दुनाटपरीबाटै आत्मनिर्भर

लक्ष्मी भण्डारी २०७५ चैत १२ गते १७:२५ मा प्रकाशित

वीरेन्द्रनगर । वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमानकै भर पर्नु पथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमानको भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ ।

उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त हुन्छिन् । अहिले घरखर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरुकै भर पर्नुपथ्र्यो, उनले भनिन्, “आजभोलि आफैंसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुनाटपरी बनाउन थालें । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।” अहिले आफू मात्र होइन अन्य व्यक्तिलाई समेत रोजगारी दिन सकेकोमा उनी खुशी भएकी छन् ।

नन्दासँगै कृष्णा रोकाय पनि उद्योगमा आउँछिन् । महीना दिनसम्म काम गरेपछि तलब बुझ्छिन् । यसभन्दा अघि उनको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उनलार्ई भ्याइनभ्याई छ । रोकायको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उनको दैनिकी मात्र हैन, जीवनशैली नै फेरिएको छ ।

चार वर्ष यता नन्दा र कृष्णा मात्र होइन सोही गाउँकै हरिकला रम्तेलले पनि दुनाटपरी उद्योगमै रोजगारी पाएकी छन् । उद्योगमा काम गरेबापत उनीहरुलाई मासिक सात हजार रुपैयाँसम्म दिइएको छ । “दिनभरको खेर जाने समयको सदुपयोग भएको छ, उद्योगमा रोजगारी पाएका छौं, हरिकलाले भनिन्, “त्यति मात्र होइन यहाँ आएपछि दिदीबहिनीहरुसँग भेटघाट हुन्छ र सुखदुःखका कुराहरु पनि साटासाट हुन्छ ।” उद्योगमा आएदेखि आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछिन् ।

चार वर्ष अघि गाउँमा गठन गरिएको महिला समूहमार्फत आयमूलक कुनै न कुनै उद्यम सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो यो समूहलाई । छलफल पछि दुनाटपरी उद्योग सञ्चालन गर्ने निधो भयो । त्यस लगत्तै उद्योग सञ्चालनका लागि यो समूह जुट्यो । रामजानकी दुनाटपरी उद्योगमार्फत यस समूहका सदस्यहरुले लगातार दुनाटपरी बनाउँदै आएका छन् ।

सुरुमा पाँच, सात जना मात्रै रहेको यो समूहमा उद्योग सञ्चालन यता १३ जना पुगेका छन् । विसं २०७१ यता श्रीनगरका यी महिलाले उद्योगमा प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अहिले यहाँ मध्याह्न १२ बजेदेखि चार बजेसम्म टपरी बनाउने काम हुन्छ ।

उनीहरुले पातका लागि गाउँकै सामुदायिक वनसँग सम्झौता गरेका छन् । उद्योगमा ठुला र साना दुईथरीका टपरी र दुनाहरु बन्छन् । ठुलो टपरीलाई प्रतिगोटा दश रुपैयाँ र सानोलाई तीन, चार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, दुना प्रतिगोटा एक रुपैयाँका दरले बिक्री गर्ने गरिएको छ ।

“अचेल टपरी र दुनाको माग अत्यधिक छ तर, पु¥याउन सकिएको छैन । हरिकलाका अनुसार दुनाटपरीका लागि बजार अभाव छैन । उनले भनिन्, ‘व्यवसायीहरु उद्योगमै लिन आउँछन् तर, सालको पातको अभावका कारण भने उत्पादन बढाउन सकिएको छैन । यस उद्योगमा दैनिक २०० वटा टपरी र ३०० वटा दुना उत्पादन हुन्छ । यति उत्पादनले बजारको माग भने नधान्ने महिला उद्यमीहरु बताउँछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय