रमणको ‘आँखीझ्याल’ सार्वजनिक

काठमाडौं । लेखक एवं सञ्चारकर्मी रमण घिमिरेद्वारा लिखित ‘आँखीझ्याल’ पुस्तक बजारमा आएको छ । सोमबार राजधानीमा सार्वजनिक गरिएको उक्त पुस्तकमा कला, संगीत र साहित्य विधाका १३ जना अग्रज स्रष्टाका जीवनी सन्दर्भ समेटिएको छ ।

निबन्धात्मक शैलीमा लेखिएको पुस्तकमा संगीतकार अम्बर गुरुङ, साहित्यकार ईश्वरबल्लभ, डायमनशमशेर राणा, कमलमणि दीक्षित, क्षेत्रप्रताप अधिकारी, जगदीश घिमिरे, पेमाला गुरुवाचार्य लगायतका विषयमा घतलाग्दा विषय समेटिएका छन् । त्यस्तै, माणिकरत्न, फत्तेमान, भीम विराग, भीमबहादुर थापा, राममान तृषित, रामशरण दर्नालको जीवनीसँगै व्यक्तित्वको चर्चा पुस्तकमा गरिएको छ ।

कार्यक्रममा लेखक तथा नाटककार अशेष मल्ले ‘आँखीझ्याल’ कलात्मकक लेखनको निकै राम्रो नमुनाको रुपमा प्रकाशित भएको जिकिर गरे । त्यस्तै, पुस्तकमाथि टिप्पणी गर्दै शेखर खरेलले पाठकलाई पुरानो स्मृतिमा पु¥याउन पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले ‘आँखीझ्याल’ कृति सर्जकप्रति समर्पणको रूपमा आएको भनाई व्यक्त गरे । कार्यक्रममा सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले पुस्तकले नेपालको एउटा कालखण्डको स्मरण गराएको बताइन् ।

पुस्तकका लेखक घिमिरेले राष्ट्रले सम्मान गरेका अग्रज र पुराना स्रष्टाका बारेमा बुझ्न सजिलो होस् भनेर आफूले पुस्तक प्रकाशित गरेको बताए । उनले भने, ‘पुस्तकमा समेटिएका व्यक्तित्वमध्ये धेरैसँग अनेकौं पटक भेट्ने अवसर पाएको थिएँ । तिनका जीवन भोगाइका स–साना सन्दर्भको रहस्योद्घाटन हुँदा मनमा एक किसिमको तरंग उठ्यो ।’ उनले ती तरंगहरुले आफ्नो मन छोएपछि लेख्न थालेको जिकिर गरे । पुस्तकमा सर्जकका निकै रमाइला प्रसंगसहित अनौठा आनीबानी र अन्तर्यहरू समेत समेटिएको छ । पुस्तक मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया