समृद्ध नेपालको आधार संस्कृति

काठमाडौं । सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना नेपाल समृद्ध बन्न नसक्ने वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बताएका छन् । काठमाडौं सुनचाँदी व्यवसायी संघको १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले पुर्खाले विकास गरेका सम्पदाको संरक्षण र विकासविना सभ्य समाज बन्न नसक्ने जिकिर गरे ।

उनले भने, ‘हाम्रा पुर्खाले बनाएका सुनको झ्याल, ढोका, धारा, मन्दिरलगायत सांस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटक आगमन वृद्धि गर्न सके मात्र नेपाल समृद्ध बन्ने भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्दछ ।’

नेपालको मौलिक संस्कृतिको खोजविन गरी त्यसको संरक्षणमा राज्यले भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘मुलुक गरिब भए पनि हाम्रा पुर्खाले सुनैसुनको मन्दिर, झ्याल, ढोका, धारा लगायत संरचना बनाएका थिए, तिनको संरक्षण पनि हामीले गर्न सकेका छैनौँ, यसतर्फ हाम्रो ध्यान जान सकेको छैन, पाटनमा रहेको सुनको चरा, सर्पलगायत सांस्कृतिक सम्पदामा ठूलो दर्शन भए पनि त्यसको अध्ययन अनुसन्धानमा नयाँ पुस्ताको ध्यान जान सकेन ।’

उनले सुनका ऐतिहासिक सम्पदा बनाउन ३२ कोठी महाजन अर्थात् व्यापारीको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए । कार्यक्रममा प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठले वार्षिक ४० लाख युवा रोजगारीका लागि विदेशिने गरेकाले कला संस्कृतिको संरक्षण गरी रोजगारी सिर्जना गर्न प्रदेशसभाले प्राविधिक शिक्षा ऐन पारित गरेको बताए ।

सुनचाँदी रत्न आभूषण महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य, आयोजक संघका अध्यक्ष महेन्द्ररत्न शाक्य, सदस्य देव बज्राचार्य लगायतले सुनचाँदी व्यवसायलाई मर्यादित बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया