अनाथलाई लभ स्टेसनको सहयोग

काठमाडौं । चलचित्र ‘लभ स्टेसन’ को निर्माण पक्षले ४५ जना अनाथ बालिबालिकालाई निजी विद्यालयमा पढाउँदा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क सहयोग गरेका छन् । काठमाडौंको गोकर्णस्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा रहेका बालबालिकालाई यही वैशाखबाट विद्यालय भर्नासहित तीन महिनाका लागि शुल्कबापतको एकमुष्ट रकम चलचित्रका तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले प्रदान गरेका हुन् ।

सहयोग प्रदानपछि अभिनेता प्रदीपले भने, ‘कलाकारको दायित्व भनेको अभिनय मात्र नभएर समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेसाका व्यक्तिले विद्यार्थीको अध्ययन खर्च जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको वेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै हामीले यहाँ रहेका ४५ बालबालिकालाई स्कुल भर्नासहित तीन महिनाको शुल्क पनि एकमुष्ट बुझाएका हौँ ।’

उनका अनुसार अहिले चलचित्र लभ स्टेसनका तर्फबाट सहयोग दिइएको हो । अभिनेता खड्काले थपे, ‘यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरि सहयोग गर्नेछौँ र अरूबाट पनि सहयोग मिल्ने आशा हाम्रो छ ।’

चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले विगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको जानकारी दिँदै ‘लभ स्टेसन’ का तर्फबाट सामाजिक उत्तरदायित्व स्वरूप विद्यार्थीको खर्च ब्यहोरेको बताए । करेन्टबाट दुवै हात गुमाएकी मेघा घिमिरेलाई पनि यसअघि आफूहरूले एक लाख रूपैयाँ प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी दिए । सो अपांग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब एक लाख रूपैयाँ हुन आउने सो खर्चमा सहयोग गरेकोमा धन्यवाद प्रदान गर्दै यस्तो सहयोगको आशा अरूसँग पनि गरिएको बताए ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा अभिनेता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय छ । काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले यो चलचित्र निर्माण गरेका हुन् ।

जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेसनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो आगामी २२ चैतदेखि देशव्यापी प्रदर्शनमा आउने तयारी रहेको निर्देशक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया