खोजखबर

शंकरको गिरफ्तारीलाई बिनासँग किन जोड्ने ?

चमिना भट्टराई २०७५ चैत ११ गते ७:३१ मा प्रकाशित

शंकर अधिकारीको गिरफ्तारीलाई खानेपानीमन्त्री बिना मगरसँग जोडिएर व्यापक चर्चा बनेको छ । बिना र शंकर कुनै वेला पति पत्नि थिए । त्यो समय उनीहरूकोबीचमा बिचार मिल्थ्यो, भावना मिल्थ्यो सँगै बाच्ने सँगै मर्ने भनेर सँगै थिए । आपसमा के के मिलेन अलग भए । बिनाले आफ्नो ढंगले जीवन अघि बढाइन । शंकरले आफ्नै बाटो रोजे । त्यसका लागि दुवैलाई छुट छ की छैन ?

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो तहका नेता हेमन्तप्रकाश ओलीसँगै चैत्र ८ गते सुक्रबार पक्राउ परेका उक्त पार्टीका कार्यकर्तामध्ये एक हुन् शंकर अधिकारी । उनीसँगै अरू पनि पक्राउ परे तर, चर्चा भने शंकरको माथि छ । यतिवेला हरेक सञ्चार माध्यममा हेमन्तकै उचाइमा शंकरको चर्चा छ । शंकरको विगत जोड्न नपर्ने मान्छेको नामसँग जोड्ने प्रयास गरिएको छ ।

नेपालको सञ्चारमाध्यय पछिल्लो समय समाचारको हेडलाइन के राख्ने र कसरी चर्चा बटुल्ने भन्नेमा अग्र भागमा देखिएको छ । त्यसमा सबैभन्दा बढी डिजिटल पत्रिका (अनलाइन) मिडिया पर्छन् । अहिले शंकरको गिरफ्तारीलाई बहालवाला खानेपानीमन्त्री बिना मगरसँग जोडिएर व्यापक बनाइएको छ ।

बिना र शंकर कुनै वेला पतिपत्नी थिए । त्यो समय उनीहरूबीचमा विचार मिल्थ्यो, भावना मिल्थ्यो, सँगै बाच्ने सँगै मर्ने भनेर सँगै थिए । आपसमा के–के मिलेन अलग भए । त्यो उनीहरूको निजी विषय हो । बिनाले आफ्नो ढंगले जीवन अघि बढाइन् । शंकर आफ्नै बाटोमा लागे । त्यसका लागि दुवैलाई छुट छ की छैन ? के कोही मान्छे जबर्जस्त जीवनभर कसैसँग टाँसिएर अरूलाई देखाउनका लागि बस्नपर्छ ? सँगै बस्न नसक्ने भएपछि एक अर्कोबाट अलग हुने अधिकार छैन ?

कुनै पनि मान्छे जीवनमा कसैको बधुवा भएर बस्न पर्छ भन्ने छैन । त्यसैले होला त्यो अधिकार दुवैले प्रयोग गरे । आज बिनाले जीवनलाई शंकरको छायाभन्दा पर राखेको अवस्थामा उनको नाम जोडिरहनुपर्छ ? शंकर अधिकारीको गिरफ्तारीलाई ‘बिनाको पूर्वपति गिरफ्तार’ भनेर जोडिरहनु उनीप्रति मानसिक हिंसा हो की होइन ? त्यो गरिरहनुपर्छ ? बिनालाई शंकरसँग जोडनै पर्ने कारण के हो । समाचारको बिषयले कसैलाई बाधा पु¥याउने काम गर्न पाइन्छ ? त्यसको असर बिनालाई मात्रै होइन उनको छोरालाई पनि पर्न सक्छ

बिनाका पति स्वर्गीय प्रकाश दहाल र उनका परिवारले बिनालाई भित्र्याउँदा कमजोरी भएकै हो । त्यसमा को–को संलग्न थिए, कसकसले कमजोरी गरे त्यो अर्को पाटो हो । बिना दाहाल परिवारमा भित्रिएको कारण प्रकाशको दोस्रो पत्नी सिर्जनाले न्याय पाएकी छैनन् । त्यो एउटा पाटो हो । यो प्रकाश जीवितै रहदाँको अवस्थामा उठाउनुपर्ने थियो । र आज पनि सिर्जनाले न्याए पाएकी छैनन्, उनले न्याय पाउनुपर्छ । त्यसमा बिनाले पनि विचार पु¥याउँदा राम्रो हुन्छ । किनकी उनी राज्यको जिम्मेवार ठाउँमा छिन् । शंकरसँगको सम्बन्ध टुटाउँदा र प्रकाशसँग सम्बन्ध जोड्दा पु¥याउनुपर्ने कानुनी प्रक्रियामा बिना र प्रकाश दुवैको कमजोरी भएकै हो । तर, कुरो के उठाउने र कहाँ उठाउने भन्ने बारेमा सञ्चारमाध्यमले ख्याल गर्नुपर्छ ।

विना सत्तामा भएका वेला उनको पूर्वपति पक्राउ पर्नु नौलो होइन । पूर्वपति मात्रै होइन वर्तमान पति, बुवा, आमा, छोराछोरी वा अरू कोही आफन्त पनि पक्राउ पर्न वा कानुनको दायरामा आउन सक्छन् । उनी के कारणले गिरफ्तार भए । उनलाई के सजाएँ हुन्छ त्यो अर्को विषय हो । त्यसको जवाफ प्रहरी वा अदालतले देला । तर, एउटा मान्छेसँग अर्को मान्छेको सबै प्रकारका सम्बन्ध टुटिसकेको अवस्थामा शंकरसँग नाम मात्रै होइन बिनाको फोटो नै जोडेर समाचार बनाइरहदाँ के हामी रोमाञ्चित थियौँ वा कसैको भावनामा खेल्दै थियौँ ? यो मेरो प्रश्न हो । समाचारको भावना र समाजको भावनासँग खेल्ने अधिकार हामी समाचार कक्षमा बस्नेलाई छ ? त्यो अधिकार हामीले खोज्नु हुँदैन । सूचना दिने काम गर्ने हो त्यसभन्दा बाहिर जाने प्रयास किन गर्ने ?

काभ्रेपलान्चोकबाट प्रहरीले अन्य नेतासहित शंकर अधिकारीलाई गिरफ्तार गरेपछि । शनिबार र आइतबारसम्म यस्तै हेडलाइनका समाचार बजारमा बिकाउन बनाउने प्रयास गरियो । समाचार बेच्नका लागि की पठालाई सूचना प्रवाह गर्नका लागि ? यो विषय मेरो मथिंगलमा घुमिरहेको छ । हाम्रो काम समाजमा भएका र हुनसक्ने घटना र विषय बस्तुलाई समाचार बनाएर पाठकलाई सूचित गराउने हो । प्रशंग नमिल्ने विषय जोडेर कसैको भावनामा खेल्ने वा मानसिक रूपमा तनाव दिने होइन । मैले बुझेको पत्रकारिता यही हो । सायद, धेरैले यही बुझेको हुनपर्छ ।

केही समय यता समाचार सबै पढ्ने भन्दा हेडलाइन हेरेर त्यसलाई अथ्र्याउने सोचको विकास भएको छ । त्यसमा कति लाइक, कमेन्ट र सेयर भए त्यसैमा मूल्यांकन हुन्छ । यतिले मात्रै समाचारको मूल्यांकन हुनु हुँदैन । त्यसमा सत्यता, निष्ठा र वास्तविकता पनि खोजिनु पर्छ । उट्पट्याङ हेडलाइन बनाएर समाचार बिकाउने काम विगतमा पनि भएको छ । कतिले कारबाही पनि भोगिसक्ने फेरी भोग्लान् र भोग्नुपर्छ । कयौँ समाचार हेडलाइनसँग छेउ टुप्पै नमिले पनि प्रकाशमा आउने गरेको छ । के हामी पाठकलाई समाचार पढाउँदै छौँ की हेडलाइन ? वा अलमलमा राख्ने प्रयास गर्दै छौँ ?

मान्छेका हजार अपराध हुन सक्छ । सजाय अपराधमा दिनुपर्छ । बिनालाई अहिले शंकरको गिरफ्तारिमा मानसिक सजाए दिने प्रयास भएको छ । त्यो गरिनु हुँदैन । उनी त्यो सजायँ पाउन पर्ने हो वा होइन त्यो पनि सोच्यौँ । बिनाको विगत र वर्तमानका धेरै पाटाहरू धेरै पटक समाचार बनेका छन् । अहिले बनेको समाचारको पाटो भनेको बिकाउ समाचारको लागि मात्रै हो भन्ने मैले ठानेको छु । जुन हेडलाइन र तस्बिरको आवश्यकता थिएन । सायद त्यसले बिनालाई मात्रै होइन समाचार हेर्न र पढन पाएको भए शंकरलाई पनि भएको होला ? सबै प्रकारले अलग भएका मान्छेलाई जोडिरहने हामी को हौँ ?

मैले यति लेखिरहदाँ उनीसँग मेरो कुनै साइनो सम्बन्ध छैन, सम्बन्ध मात्रै भावनाको हो । मलाई बिनाको भावनासँग समाचारले खेलेको लाग्यो । यसले उनलाई अन्याय भएको ठाने । हाम्रो समाजमा कहिलेकाहिँ समाचारका विषय र प्रस्तुतिलाई लैंगिक दृष्टिले हेर्न र प्रस्तुति गर्ने गरिन्छ । मलाई त्यो राम्रो लाग्दैन । समाचार त्यसको विषय र प्रस्तुति सीमाभित्र रहेको हुनुपर्छ । कुनै वाद वा ंिलंगका आधारमा समाचारको मूल्यांकन पनि फितलो हुन्छ । नत्र किन भन्ने त चौथो अंग ?

उट्पट्यांग समाचार लेख्ले र प्रस्तुति गरेकै कारण धमाधम मान्छे प्रहरीको निशानामा पर्दै छन् । यसमा पनि स्वतन्त्र पत्रकारिता खोजियो भने त्यो जायज नहोला ? हामी आफ्नो काम र कर्ममा कति इमान्दार छौँ, त्यसपछि खोजिनुपर्छ आफ्नो स्वतन्त्रता । अर्को कुरा पत्रकार र सञ्चार माध्यलाई जे पनि गर्ने छुट कदापि हुँदैन । सबै ठाउँको आफ्नो क्षेत्र र सीमा हुन्छ । त्यो नाघ्ने अधिकार कसैलाई छैन ।

चर्चा बटुल्ने र बे्रकिङको हतारोमा हामीले गरेका त्रुटि समाज र पाठकले के हेरी रहेका हुन्छन् । पाठकलाई विश्वसनियता र सही समाचार दिने प्रयास गरौँ । नाइक, कमेन्ट वा सेयर बढाउने हतारोमा उटपट्याङ हेडलाइन र समाचारको खेती बन्द गरौँ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय