नेपाल कता जाँदै छ ?

देशमा विद्यमान प्रतिगामी व्यवस्थाको सीमाभित्र जनताका समस्याहरूको वास्तविक समाधान वा समृद्ध, सुखी नेपालको निर्माण सम्भव छैन । तर, त्यसको अर्थ समृद्ध र सुखी नेपाल निर्माणको कार्य विल्कुल सम्भव छैन भनेर त्यो सम्भावनालाई पूरै निषेध गर्नु पनि सही होइन । अर्कोतिर वर्तमान व्यवस्था प्रतिक्रियावादी भए पनि अहिलेको सरकार पूरै नै देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूको अधीन छ भन्ने कुरालाई पनि निरपेक्षरूपमा लिनु सही हुने छैन

प्रश्न त्यसको राजनीति स्थिति र विकासमा समेत आँच पु¥याउने बाह्य शक्तिहरूको भूमिकाको मात्र होइन, देशभित्रका कतिपय प्रतिक्रियावादी अवरोध वा समस्याका कारणले पनि देशको विकास हुन सकेको छैन । वर्तमान सरकार पूरै नै प्रतिक्रियावादी सरकार हो भन्ने हाम्रो पार्टीको निष्कर्ष छैन । नेकाको नेतृत्वमा बनेको गठबन्धनको तुलनामा एमाले र माओवादीको गठबन्धन प्रगतिशील थियो भन्ने हाम्रो मत थियो र अहिले पनि हाम्रो त्यो मतमा परिवर्तन भएको छैन ।

तर, अन्तर्राष्ट्रिय प्रतिक्रियावादका साथै देशभित्रका विभिन्न प्रतिक्रियावादी समूहहरूको प्रभावबाट मुक्त भएर त्यसले कति काम गर्न सक्छ ? त्यो निर्णायात्मक महत्वको प्रश्न हो । वर्तमान सरकारले नेपालको राष्ट्रिय हितका विरुद्ध भएका कैयौँ सम्झौताहरूलाई समर्थन गर्दै वा तिनीहरूलाई निरन्तरता दिँदै आएको छ । माथिल्लो कर्णालीको सम्झौता त्यसको एउटा उदाहरण हो । यातायातमा भएको सिन्डिकेट प्रथालाई समाप्त गर्ने घोषणा गरेपछि पनि त्यसलाई लागू गर्न नसक्नु, निर्मला पन्त बलात्कार र हत्याकाण्डको अपराधीलाई सार्वजनिक गर्न नसक्नु आदि पनि सरकारका लाचारी वा निरीह अवस्थाका उदाहरणहरू हुन् । विकासको क्षेत्रमा लगातारको असफलता वा देशमा बढिरहेको ठूलो पैमानाका भ्रष्टाचार पनि त्यही प्रकारका उदाहरणहरू हुन् ।

अहिले अत्यधिक बहुमतका साथ नेकपाको सरकार सत्तामा छ । तर, समग्र रूपमा हेर्दा के देखिन्छ भने त्यो (नेकपा सरकार) सत्तामा भए पनि त्यो वास्तवमा सत्ता बाहिर छ । देशका माफिया, गुप्तचर, प्रशासनमा भएका भ्रष्ट र नोकरशाही तत्वहरू, प्रतिक्रियावादी वर्गहरू, जस्तै कि सामन्त, दलाल, पुँजीपति र नोकरशाही पुँजीपति वर्गहरू आदिमाथि त्यसको (सरकारको) शासन वा नियन्त्रण छैन । गहिराइमा गएर हेर्ने हो भने यो कुरामा कुनै शंका रहन्न कि, देशका विभिन्न प्रकारका प्रतिक्रियावादी शक्तिहरूले विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग साँठगाँठ गरेर नै देशमा शासन गरिरहेका छन् । नेकपाको सरकार त्यसको एउटा बाह्य पक्ष मात्र हो ।

त्यसले तबसम्म देशी वा विदेशी शक्तिहरूको स्वार्थ वा निर्देशनअनुसार काम गर्दछ, त्यो सत्तामा रहन्छ, अन्यथा देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई फ्याँक्ने काम गर्दछन् । यो वर्तमान सरकार कुनै प्रतिक्रियावादी सरकार होइन । तर, त्यस प्रकारका शक्तिहरूको प्रभावबाट मुक्त भएर काम गर्नका लागि जुन स्पष्ट दृष्टिकोण, इच्छाशक्ति वा दृढता आवश्यकता पर्दछ । त्यसमा (सरकारमा) तिनीहरूको अभावै त नभनौँ धेरै कमी पाइन्छ । त्यसैको परिणाम यो हो कि, वर्तमान सरकार आफ्नै खुट्टामा उभिन सकेको छैन । अर्को शब्दमा त्यसले स्वयं आफ्नो प्रतिबद्धता वा घोषित नीति र कार्यक्रमअनुसार पनि काम गर्न सकिरहेको छैन ।

हामीसित कामरेड चित्रबहादुर केसीको उदाहरण अगाडि छ, उनले इमानदारिता र दृढतापूर्वक जनताको सेवा गर्ने काम गर्न पूर्ण प्रयत्न गरे । तर, भ्रष्ट र नोकरशाही प्रशासनयन्त्रले उनलाई काम गर्न दिएन । उनले सहकारिताको सिद्धान्तअनुसार सहकारी ऐन बनाउन प्रत्यन गराउँदा पनि त्यसलाई सफल पार्न दिइएन । त्यो उदाहरणले पनि के बताउँछ भने कुनै पार्टी वा सरकार जतिसुकै प्रगतिशील जनपक्ष भए पनि वर्तमान प्रतिक्रियावादी व्यवस्थाको सीमाभित्र देश र जनताको वास्तविक हितका लागि काम गर्न धेरै मुस्किल हुन्छ ।

त्यसैले, हाम्रो पार्टीले वर्तमान व्यवस्थामा आमूल र क्रान्तिकारी परिवर्तन र नयाँ जनवादी सत्ताको स्थापनामा जोड दिन्छ । तर, त्यो कुरा सत्य हुँदाहुँदै पनि वर्तमान व्यवस्था आवश्यकताअनुसार वर्तमान व्यवस्थाभित्र बन्ने सरकार वा त्यस अन्तर्गतका सुधार कार्यहरूलाई पूरै निषेध गर्नु सही दृष्टिकोण होइन । स्पष्ट शब्दमा भन्ने हो भने त्यो अराजकतावादी चिन्तन नै हो ।

हामीले प्रतिगामी व्यवस्थाभित्रका व्यवस्था वा सरकारअन्तर्गत पनि जनताका कैयौँ मागहरू पूरा गर्ने आवाज उठाउँछौँ, कतिपय अवस्थामा चुनावलाई उपयोग गर्दछौँ वा कुनै खास अवस्थामा सरकारमा पनि सामेल हुन्छौँ । तर, यस प्रकारका हाम्रा नीतिहरू कार्य नीति मात्र हुन् । एकातिर, दीर्घकालिन क्रान्तिकारी उद्देश्यहरू पूरा गर्नका लागि प्रयत्न गर्दै, अर्कोतिर, वर्तमान व्यवस्थाअन्तर्गत पनि जनताका समस्याहरूलाई बढीभन्दा बढी समाधान गर्न देशमा बढीभन्दा बढी विकास गर्ने वा देशलाई उज्ज्वल भविष्यतिर लैजाने हाम्रो प्रयत्न हुन्छ र हुनुपर्दछ ।

देशमा विद्यमान प्रतिगामी व्यवस्थाको सीमाभित्र जनताका समस्याहरूको वास्तविक समाधान वा समृद्ध, सुखी नेपालको निर्माण सम्भव छैन । तर, त्यसको अर्थ समृद्ध र सुखी नेपाल निर्माणको कार्य विल्कुल सम्भव छैन भनेर त्यो सम्भावनालाई पूरै निषेध गर्नु पनि सही होइन । अर्कोतिर वर्तमान व्यवस्था प्रतिक्रियावादी भए पनि अहिलेको सरकार पूरै नै देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूको अधीन छ भन्ने कुरालाई पनि निरपेक्षरूपमा लिनु सही हुने छैन ।

ओली सरकारको त्यस प्रकारको चरित्र भएको भए पहिले भारतीय विस्तारवादले त्यसलाई अपदस्थ गर्ने प्रयत्न गर्ने थिएन । अहिले पनि वर्तमान सरकारलाई भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद वा युरोपियन साम्राज्यवादी देशहरूको पूरा समर्थन छ भन्ने होइन, उनीहरूले यो सरकारद्वारा आफ्ना स्वार्थहरू पूरा गर्न लगाएर दबाब दिइरहेका छन् । तर, त्यसको परिणाम स्वरूप सरकारले उनीहरूका कैयौँ स्वार्थहरूलाई पूरा गर्ने काम पनि गरिरहेको छ । तर, त्यसो गर्दा उनीहरूमा केही हिचकिचाहट, द्विविधा, प्रतिरोध वा केही हदसम्म उनीहरूका विरुद्ध जाने र अंशतः राष्ट्रियता र जनहितको पक्षमा अडान लिने प्रवृद्धिहरू पनि देखापर्ने गरेका छन् ।

त्यो उनीहरूको चरित्र ढुलमुल, अवसरवादी र सम्झौतापरस्त भएको, तर प्रतिक्रियावादी नभएको कुराको संकेत हो । वर्तमान सरकार जतिसुकै प्रगतिशील र जनपक्ष भए पनि वा सरकारमा उनीहरूको जतिसुकै ठूलो शक्ति भए पनि देश जनताका हितमा सफलतापूर्वक काम गर्न सजिलो छैन । त्यही पनि उनीहरूमा अंशतः भए पनि इमानदारिता वा इच्छाशक्ति भएमा देशलाई वर्तमान अवस्थाबाट अग्रताको दिशामा लैजान उनीहरूले केही न केही सफलता पूर्वक काम गर्न सक्दछन् । उनीहरूले त्यसो गर्नु पनि पर्दछ । त्यहि नै देश, जनता र उनीहरूको पनि हितमा हुनेछ । त्यसैले नै जनताका बीचमा उनीहरूको आधार बलियो हुने छ र त्यसका आधारमा देशी वा विदेशी शक्तिहरूको उनीहरू माथिको आक्रमणलाई असफल पार्न सम्भव हुनेछ ।

अन्तमा अहिलेको सरकारले जुन प्रकारका नीति र कार्यक्रमहरू अपनाइरहेको छ, त्यसबाट वर्तमान सरकार कम्युनिस्ट सरकार होइन भन्ने कुरा त प्रस्ट हुन्छ नै । त्यसका साथै उनीहरूले कम से कम बुर्जुवा प्रकारले पनि देश र जनताको हितमा केही काम गर्न सकेमा देश केही अग्रगमन र विकासको दिशामा बढ्न सक्ने थियो । तर, त्यो दिशामा पनि सन्तोषजनक प्रकारले काम हुन सकिरहेको छैन । बाह्य र आन्तरिक परिस्थितिका बाबजुद स्पष्ट दृष्टिकोण तथा दृढ इच्छाशक्ति अपनाएर काम गरेमा अहिलेको प्रतिकूल परिस्थितिका बाबजुद देशको विकासमा महत्वपूर्ण योगदान पुग्न सक्दथ्यो । तर, सरकारले जुन प्रकारको नीति र कार्यशैली अपनाइरहेको छ, त्यसले गर्दा देश अग्रगमनतिर जानेभन्दा यथास्थितिमा रहने वा प्रतिगमनतिर जाने सम्भावना नै बढी देखापर्ने गरेको छ र त्यसबाट प्रतिगामी शक्तिहरूलाई नै बढी बल पुग्ने गरेको छ ।

प्रतिक्रिया