सिंगारिदै बागमतीको मुहार

काठमाडौं । कुनै समय दुर्गन्धले छेउमा समेत जान नसकिने ऐतिहासिक सभ्यता बोकेको बागमती नदीको मुहार अहिले फेरिँदै छ ।

भगवान् शिवसँगसमेत जोडिएको सो नदी उपत्यकावासीको चपेटामा परेपछि आफ्नो सभ्यता नै गुमाउने अवस्थामा पुगेको थियो । कुनै समय माछासमेत पाइने बागमती नदीमा फोहोर यसरी बढ्दै गयो कि, कुनै जीव त के मानिस नै छेउमा गएर एकैछिन बस्न सक्ने अवस्थासमेत थिएन् ।

यसको संरक्षणमा विभिन्न समयमा केही अभियान्ताले अभियान भने नगरेका होइनन् तर, यसले खासै प्रभाव जमाउन सकेन् । यसै क्रममा सरकारका तत्कालीन मुख्यसचिव लिलामणि पौडेलको अग्रसरतामा ५ जेठ ०७० सालबाट बागमतीको मुहार फेर्नका लागि अभियान सुरु भयो ।

निकै कठिन कामको सुरुआत भए पनि यसले सफलता पाउने वा नपाउने अनिश्चितताको बीचमा काम सुरु भएको थियो । तर, यस महाअभियानलाई समाजका विभिन्न क्षेत्रका मानिसले सहयोग गरे । हरेक शनिबार सुुरु गरिएको यो अभियानलाई महाअभियान बनाएर लैजाने अठोट व्यक्त गर्दै काम गरे । जुन अभियान यो शनिबार ३०५औँ हप्तामा पुगेको छ ।

विगतमा दुर्गन्ध आउने बागमती अहिले केही हदसम्म स्वच्छ पानी बग्न थालेको छ । तर, अझै पनि पूर्णरूपमा स्वच्छ भने छैन । अभियान जारी राखे पनि अहिले भने यसलाई थप सुन्दर बनाउने कार्य जारी रहेको छ । दीर्घकालीन सफाइका लागि पूर्वाधारहरू निर्माण तथा बागमती सुन्दरीकरण आयोजनाको कामले हाल तीव्रता पाएको छ ।

नदीको संरक्षण र यसको रेखदेखका लागि ०५२ सालमा पहिलोपटक बागमती सभ्यता एकीकृत विकास समिति गठन भएको थियो । विभिन्न २५ वटा संस्थाहरूको सहकार्यमा अघि बढेको २४ वर्षअघि गठित बागमती सफाइ अभियानले दरिलो नेतृत्वकर्ता नभेट्दा बेहाल बनेको थियो । अहिले बागमती सुन्दरीकरण आयोजनाअन्तर्गत भौतिक संरचना निर्माण, सफाइ, वृक्षरोपणलगायत कार्यहरू तीव्र रूपमा अगाडि बढिरहेका छन् । अभियानले पहिलेको तुलनामा फोहोर बग्ने बागमती स्वच्छ बन्दै गएको र नदी किनारमा हरियाली बढ्न थालेको बागमती सफाइका अभियान्ता माला खरेलले बताइन् ।

‘बागमती ब्युटिफिकेसन (सौन्दर्यकरण)’ प्रोजेक्टका योजनाकार आशिष घिमिरे हुन् । यो आयोजना लागू भएपछि नदी किनारमा फोहोर थुप्रिन कम भएको छ भने नदीमा संग्लो पानी देखापर्न थालेको छ । बागमती किनारमा भौतिक संरचनाअन्तर्गत पर्खाल निर्माण तथा सडक विकासको ठेक्का कालिका कन्स्ट्रक्सनले लिएको छ । कन्स्ट्रक्सनले उक्त कामको बाँडफाँड अन्य ठेकेदारलाई दिएको छ ।

सिनामंगलस्थित पुलदेखि गौशालासम्मको नदी किनारामा आयोजनाको कामको ठेक्का बुद्धि लामाले पाएका छन् । नदी किनारमा रहेका सुकुम्वासी बस्ती र तरकारी बजारले गर्दा काम सोचेअनुरूप अघि बढ्न नसकेको लामाले बताए । तथापि, पहिलेको तुलनामा बागमती नदीमा विकास निर्माण गतिविधि प्रभावकारी रूपले अघि बढिरहेको उनले भने ।

पहिलो र दोस्रो चरणमा काम सम्पन्न गर्ने गरी कार्य विभाजन गरिएको छ । पहिलो चरणअन्तर्गत गोकर्णदेखि सिनामंगल क्षेत्र रहेको छ । यसमा आयोजनाको ४५ प्रतिशत काम गरिसकिएको लामाले बताए । दोस्रो चरणमा सिनामंगलदेखि चोभारसम्मको २१ किलोमिटर ब्युटिफिकेसन गरिने तयारी रहेको उनले जानकारी दिए ।

गोकर्णदेखि सिनामंगलसम्मको सात किलोमिटर ब्युटिफिकेसनका लागि २ अर्बभन्दा बढी लगानी भएको खरेलले जानकारी दिइन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनाराको दुवैतिर वृक्षरोपण गरी हरियाली बनाउने र सौन्दर्य बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नदीको दुवै किनारामा खाली भएको ठाउँमा वृक्षरोपणका कार्य भइरहेको छ भने अन्य भौतिक संरचनाका कामहरू पनि धमाधम अघि बढिरहेका छन् । नदी क्षेत्रमा विभिन्न संघ÷संस्थाले उद्यान निर्माणको जिम्मा लिएका छन् । जसअन्तर्गत विभिन्न बैंक तथा वित्तीय संस्था, निजामती कर्मचारी संघ, महिला समूह, गैरआवासीय नेपाली संघ, विद्यालय तथा कलेजहरूले उद्यान निर्माणको जिम्मा लिएका हुन् । सरकारको निर्देशनमा अघि बढेको उक्त कार्यक्रममा आबद्ध कतिपय संस्थाले आफ्नै लगानीमा समेत निर्माण तथा संरक्षणका काम गरिरहेका छन् ।

प्रतिक्रिया