अन्तरजातीय विवाह गरेका सुखी जोडीहरू

लमही । कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्क उमेरमा प्रेम विवाह गरेका अन्तरजातीय जोडी सफल भएका छन् भने समाजमा एउटा उदाहरणीय पात्र बन्ने गरेका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका–१ का गोविन्द सापकोटाले विसं २०३३ मा तारादेवी सुनारलाई अन्तरजातीय विवाह गरेका थिए । अहिले उनको एउटा छोरा छन् । अन्तरजातीय विवाह गर्दा घरपरिवारबाट अपमान सहन बाध्य भएका सापकोटा अन्ततः परिवारको प्यारो बन्न अहीले सफल भएका छन् ।

एक्काइसौँ शताब्दीमा रुढीवादी कुसंस्कार अन्त्य गर्न सफल भएको भन्दै सबैले प्रशंसा गर्न थालेपछि घरपरिवार पनि सकारात्मक भएको उनले बताए । “रगत सबैको रातो हुन्छ, मान्छे सबै एउटै हो, उनले भने, “मान्छे मान्छेबीचको विभेद अन्त्य हुनुपर्ने आवाज उठाउँदै अन्तरजातीय विवाह गरेको हूँ ।

अहिले अन्तरजातीय विवाह गरेकै कारण सबैले प्रशंसा गर्ने गरेको उनको भनाइ छ । त्यस्तै मुलूक नयाँ युगमा प्रवेश गरिसकेको अवस्थामा परम्परागत कुसंस्कार अन्त्य गर्नुपर्ने भन्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

त्यस्तै सोही वडा भमकेका २१ वर्षीय सञ्जीव नेपालीले नेपालगञ्जकी यशोदा गुरुङलाई एक वर्षअघि विवाह गरे । “समाजमा अझै पनि अन्तरजातीय विवाहलाई स्वीकार गरिएको छैन, गुरुङले भनिन्, “यसलाई चिर्न पनि अन्तरजातीय विवाह गरेकी हूँ ।

सबैको रगत रातो हुने, सबैले फेर्ने सास एउटै हुने भन्दै मान्छे मान्छेबीच हुने विभेद अन्त्य गर्न अन्तरजातीय विवाह गरेको गुरुङको भनाइ छ । “अन्तरजातीय विवाह गरेपछि आमाबुबा र समाजले स्वीकार गर्दैनन् भन्ने पहिले नै थाहा थियो, उनले भनिन्, “तर समाजको कुसंस्कार अन्त्य गर्न जस्तोसुकै परिस्थितिमा पनि सामना गर्न तयार भएँ ।

कामका आधारमा जात छुट्याइएको भन्दै यसलाई अन्त्य गर्न यसरी नै सबैको समर्थन आवश्यक रहेको उनको भनाइ छ । आफूले अन्तरजातीय विवाह गरेपनि सुन्दर जीवनयापन गर्न सकिन्छ भनी समाजमा चेतना प्रदान गर्न अन्तरजातीय विवाह गरेको उनको तर्क छ ।

त्यस्तै तुलसीपुर–८ का ३० वर्षीय शुक्रराज चौधरीले पनि सोही ठाउँकी बालिका विकलाई छ वर्षअघि विवाह गरे । विवाह हुनेबित्तिकै समाजले स्वीकार गरेन । घरपरिवारले पनि स्वीकार गर्न मानेन् । तर, छ महीनापछि समाज र घरपरिवारले स्वीकार ग¥यो र विधिवतरूपमा विवाह भयो ।

अहिले उनिहरु सहजै ससुराली आवतजावत गर्छन् । समाजले पनि सम्मानजनक व्यवहार गर्ने चौधरीले बताए । “मुलुक धेरै अगाडि बढिसकेको छ, उनले भने, “हामी भने जातभात, छुवाछुतमै अल्झिएका छौँ । समृद्ध समाज निर्माणका लागि जातीय र लैङ्गिक विभेदको अन्त्य हुन जरुरी रहेको उनको तर्क छ ।

अन्तरजातीय विवाहलाई आफूहरुले प्रोत्साहन गरिरहेको भन्दै राज्यले पनि अन्तरजातीय जोडीलाई उचित सम्मान दिने हो भने जातीय उन्मूलन गर्न सकिने उनको भनाइ छ । जातिय उन्मूलनको कडी अन्तरजातीय विवाह भएको भन्दै यसलाई प्रोत्साहन गर्न सके जातीय विभेद अन्त्य गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

माथिका तीन जोडी उदाहरण मात्रै हुन् । दाङमा धेरै अन्तरजातीय विवाह गरेका जोडी खुशी छन् र सुखी जीवन बिताइरहेका छन् । अझै पनि नेपाली समाजले अन्तरजातीय विवाहलाई मन खोलेर स्वीकार गर्न नसकेको दलित अधिकारकर्मी निर्मल नेपालीले बताइन् ।

उनका अनुसार अन्तरजातीय विवाहलाई प्रोत्साहन गरे मात्रै पनि जातीय उन्मूलन गर्न टेवा पुग्ने उनको भनाइ छ । “राज्यले पनि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्छ, उन भनिन्, “त्यसो गर्न सकेमा मात्रै पनि जातीय विभेद न्यूनीकरणमा मद्दत पुग्छ ।

प्रतिक्रिया