चन्द अभिनन्दित

काठमाडौं । नेपाली निबन्धका क्षेत्रमा योगदान दिएको भन्दै शंकर लामिछाने प्रतिष्ठानले पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरेको छ ।  चन्दले विगत पाँच दशकदेखि नेपाली साहित्यका क्षेत्रमा निरन्तर साधना गरेको भन्दै प्रतिष्ठानले अभिनन्दन गरेको हो । निबन्धकार शंकर लामिछानेको ९२औँ जन्मजयन्तीका सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चन्दलाई अभिनन्दन गरे ।

त्यस्तै, सो अवसरमा निबन्धकार घनश्याम राजकर्णिकारलाई शंकर लामिछाने निबन्ध पुरस्कार तथा मोमिला जोशीलाई शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरियो । पुरस्कारको रकम क्रमशः ५० हजार र २५ हजार रहेको छ । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्दले साहित्यले जनतामा जागरण ल्याउने धारणा राख्दै त्यसबाट समाजमा रहेको विकृति तथा विसंगति हटाउन सहयोगी हुने जिकिर गरे । उनले निबन्धकार लामिछानेका निबन्धमा मानिसको पीडा झल्केको हुन्छ भन्दै समाजमा भएका खराब कुरा त्याग्ने र असल कुरा ग्रहण गर्नुपर्ने भनाइ राखे ।

प्रतिष्ठानका कुलपति उप्रेतीले देवकोटाका निबन्ध अनुसरण गर्ने लामिछानेले निबन्धमार्फत जीवन हेर्ने नयाँ दृष्टि र चिन्तन प्रकट भएको पाइएको बताए ।  कार्यक्रममा निबन्धकार राजकर्णिकारले साहित्य तथा निबन्धबाट समाजमा सकारात्मक सञ्चार सम्प्रेषण गर्न साहित्यको महत्वपूर्ण भूमिका हुने बताए । युवा निबन्धकार मोमिलाले आफूलाई शंकर लामिछानेको निबन्धबाट साहित्य क्षेत्रमा आउन प्रेरणा मिलेको सुनाइन् ।

सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले शंकर लामिछाने नेपाली निबन्धमा मात्रै नभई साहित्यका क्षेत्रका समेत विशिष्ट प्रतिभा भएको जिकिर गरे । शंकर लामिछाने प्रतिष्ठानका कोषाध्यक्ष पदमावती सिंहले स्रष्टा सम्मानले यस क्षेत्रमा लाग्ने सर्जकलाई अगाडि बढ्न हौसला मिल्ने बताइन् । कार्यक्रममा प्रतिष्ठानका सदस्य पुष्पा खनालले पनि मन्तव्य राखेकी थिइन् ।

कार्यक्रमका सभापति तथा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानले स्रष्टा सम्मानको कार्यलाई निरन्तरता दिँदै आएको बताए । उनले निबन्धकार लामिछानेका अप्रकाशित कृतिहरूको खोजी गर्दै हालसम्मका कृतिहरूलाई एकमुष्ठ प्रकाशन गर्ने कार्यमा प्रतिष्ठान जुटिरहेको जानकारी दिए ।

कार्यक्रममा लामिछानेकी पत्नी रत्ना लामिछाने, छोरा दीप लामिछानेलगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा उप्रेतीले लामिछानका शङ्कर लामिछानेका कृतिहरू एब्स्ट्रयाक चिन्तन प्याज (निबन्ध सङ्ग्रह), गौँथलीको गुँड (कथा संग्रह), गोधुली संसार (निबन्ध संग्रह) र बिम्ब प्रतिबिम्ब (रेखाचित्र संग्रह) को कृतिको विमोचन गरे । उक्त कृति बुक हिल पब्लिकेसन्स्ले प्रकाशित गरेको हो ।

प्रतिक्रिया