वीरगञ्जमा कार्यशाला

वीरगञ्ज । राजधानीमा मात्रै केन्द्रित कला गतिविधिलाई विकेन्द्रित गर्ने उद्देश्यका साथ कला कार्यशाला सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र उडान विंग्स अफ आर्ट वीरगञ्जको संयुक्त आयोजनामा भएको कार्यशालामा तीन दर्जन बढी कलाकारको सहभागिता रहेको थियो ।

काठमाडौं बसेर कलाकारिता गरिरहेका डेढ दर्जन कलाकार उक्त कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थिए । माइस्थानमा रहेको गहवा माइ मन्दिर परिसरमा बसेर कलाकारले चित्र बनाएका थिए । प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले माइस्थान मन्दिरको गुम्बजलाई क्यानभासमा उतारिन् ।

उनले कलाकारले जहाँ बसेर पनि आनन्दले काम गर्न सक्नुपर्ने बताउँदै आफूभित्रको सिर्जनशीलतालाई उतार्न सक्नु नै चित्रकारको शक्ति भएको बताइन् ।
उनले भनिन्, ‘कलाकर्ममा हरेक कलाकार लगनशील भएर लाग्नुपर्दछ । कलाको विकासका लागि कलाकारको भूमिकासँगै राज्यको पहलकदमी पनि रहनुपर्दछ ।’ प्रदेश–२ स्थानीय कला र भोजपुरी संस्कृतिमा धनी भएको बताउदै उनले पछिल्लो १५ वर्ष यता यस स्थानमा कलाका कुनै पनि गतिविधि नहुनु दुःखद् रहेको बताइन् ।

कार्यशालामा मुकेश मल्ल, दीपेन्द्र बनेपाली, डिबी राई, विनोद गुप्ता, विराट श्रेष्ठ, सन्जय गिरी, चन्दा श्रेष्ठ, सुष्मा श्रेष्ठ, कान्छाकाजी भासिमा, सपना शाह, शंकरमान श्रेष्ठ मुकेश महतो, नारायण लामा, श्याम श्रेष्ठ, अजमत अलि अन्सारी लगायतका कलाकारको सहभागिता रहेको थियो ।

मुकेश महतोले स्थानीयरूपमा कलाकारलाई अगाडि बढाउन कार्यशाला निकै फलदायी हुने बताए । उनले भने, ‘कलाको केन्द्रबाट मोफसलमा खासै गतिविधि नभइरहेको अवस्थामा यस कार्यशालाले स्थानीय कलाकारमा उत्साह थपेको छ । यस्ता गतिविधि बढाउन केन्द्रले पनि भूमिका खेल्नुपर्दछ ।’ कार्यशालामा सहभागी अर्का कलाकार विनोद गुप्ताले कलालाई विकेन्द्रित गर्दै देशव्यापी लैजान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहल गर्नुपर्ने धारणा व्यक्त गरे । कलालाई देशव्यापी बनाई जागरण ल्याउनका लागि समेत केन्द्रदेखि स्थानीय तहका सरकारले काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया