‘ए सानी नानी’ विमोचन

वसन्त लिम्बू, ताप्लेजुङ । दिलीप गुरुङको आवाजमा रहेको ‘ए सानी नानी’ बोलको गीतको भिडियोको सार्वजनिक भएको छ । ताप्लेजुङ सदरमुकाममा एक कार्यक्रमका बीच अग्रज स्रष्टा तथा गायक सुरोज मादेनले उक्त गीतको भिडियो विमोचन गरे । भिडियोमा खुला युगल नृत्य प्रतियोगिताका विजेता पदम श्रेष्ठ र डान्स च्याम्प झापाकी दीपमा खुलालको अभिनय छ ।

कृष्ण तामाङले निर्देशन गरेको भिडियोलाई विक्रम डिसीले खिचेका हुन् । सुन्दर लावतीले सम्पादन गरेको भिडियो ताप्लेजुङ र झापाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको हो ।  गतवर्ष भदौ २४ गते युनिक डान्स सेन्टर र शेर्पा समाजको आयोजनामा सम्पन्न भएको खुल्ला युगल नृत्य तथा गायनका विजेताहरूको भिडियो तथा गीत एकै पटक सार्वजनिक गरिएको हो ।

गीतको भिडियो विमोचन कार्यक्रममा बोल्दै गायक सुरोेज मादेनले स्थानीय कलाकारलाई स्थान दिन र कलाको सम्मान गर्न आवश्यक रहेको औँल्याऔँ । उनले भने, ‘कला र संस्कृतिको विकासका लागि स्थानीय कलाकारको प्रतिभा पहिचान गर्दै उनीहरूलाई अवसर प्रदान गर्नुपर्दछ ।’ कला र संगीतको विकासमा स्थानीय मौलिक पक्षलाई समेत संरक्षण गर्दै त्यसको प्रचार प्रसारमा काम गर्नुपर्ने वेला भएको उनले सुनाए ।

कार्यक्रममा जिल्लाका कलाकार र यस क्षेत्रमा आबद्ध व्यक्तित्वको उपस्थिति रहेको थियो । गीतको भिडियो निकै राम्रो बनेको निर्माण युनिटले दाबी गरेको छ । यसै हप्ता उक्त भिडियोलाई युट्युब च्यानलबाट सार्वजनिक गरिने आयोजक युनिक डान्स सेन्टरका सञ्चालक सुमन शेर्पाले जानकारी दिए । युनिक डान्स सेन्टरको ब्यानरमा बनेको भिडियोमा शिक्षा शेर्पाको लगानी रहेको छ ।

प्रतिक्रिया