उपाधिका लागि नेपालको प्रतिद्वन्द्वी भारत

विराटनगर । पाँचौँ साफ महिला च्याम्पियनिसपको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएका सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै नेपाल र भारतले शुक्रबार हुने उपाधि भिडन्त पक्का पारेका हुन् । नेपालले श्रीलंकामाथि ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक÷एक गोल गरेका थिए ।

यस्तै, बुधबार नै भएको दोस्रो सेमिफाइनलमा गत संस्करणका उपाधि विजेता भारत र उप विजेता बंगलादेश आमनेसामने भएका थिए । जसमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेश माथि ४–० को फाराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेशविरुद्ध सुरुदेखि आक्रामक फुटबल खेलेको भारतले पहिलो हाफमै ३ गोल गरेको थियो । १७औं मिनेटमा भारतले पाएको कर्नर किकलाई रुप्ना चक्माले गोलमा परिणत गर्दै भारतलाई सुरुवाति अग्रता दिलाएकी थिइन् ।

२२औँ मिनेटमा इन्दुमति काथरासेनले सहज गोल गर्दै गोल संख्या दोब्बर बनाइन् । ३७औं मिनेटमा सन्ध्या रन्जनाथनको क्रसमा इन्दुमतिले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भइन् । भारतले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि भारतले आक्रमक मुभ बनाए पनि गोल भने गर्न धौधौ परेको थियो । भारतका लागि सन्जु यादवले उत्कृष्ट मुभहरू बनाएकी थिइन् । इन्जुरी टाइममा भारतका लागि सब्स्टिच्यूट खेलाडी अञ्जु तामाङले चौथो गोल गरेकी थिइन् । भारतले अहिलेसम्म लगातार चार संस्करणको उपाधि जितिसकेको छ भने नेपाल तीन पटक फाइनलमा पराजित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया