हात टेकेरै विद्यालय जान्छन् यी बालक

बाली । इन्डोनेसियाको वेस्ट जाभास्थित सुकाबुमी नामक एउटा सानो गाउँमा बस्ने आठ वर्षीय बालक अहिले धेरैका निम्ति प्रेरणाका पात्र बनिरहेका छन् । जन्मदै शारीरिक रुपले अशक्त, अब्दुल होलिकका दुवै खुट्टा चल्दैनन् । तर, यस कमजोरीलाई उनले कहिल्यै आफ्नो पढाइप्रतिको रुचिमा बाधा पु¥याउन दिएनन् ।

यसरी दुवै हातमा चप्पल लगाएका अब्दुल हात टेकेरै चट्टानयुयक्त भिरालो बाटो हुँदै ६ किलोमिटर टाढा रहेको विद्यालय सम्मको संघर्षपूर्ण यात्रा गर्ने गर्दछन् । यसैले, विद्यालयभर उनको बहादुरीको अधिक चर्चा हुने गरेको छ । शारीरिक अशक्ततालाई कहिल्यै आफ्नो कमजोरी बन्न नदिएका अब्दुलले तीन वर्षको हुँदादेखि नै आफूलाई विद्यालय पठाउन बिन्ती गर्ने गरेको आमा पिपिन बताउँछिन् ।

उनले भनिन् , ‘अब्दुल पढ्न सिक्न चाहान्थ्यो र कसरी अरूजस्तै बन्ने भनेर सोध्ने गर्दथ्यो । तर म आफ्नो अशक्त छोरालाई कहाँ पढाउने भन्नेबारे ठूलो द्विविधामा थिएँ । ’ उनका अनुसार यसै चिन्ताले उनी रातरातभर जाग्ने गर्थिन् । तर केही समयपछि उनले हप्तौँ लगाएर एक विद्यालयको खोजी गरिन् जो अब्दुललाई शारीरिक कमजोरीका बाबजुद अपनाउन तयार थियो ।

तर, सो स्कुल उनको घरबाट ६ किलोमिटर टाढा भएको हुँदा पहिले त पिपिनले अब्दुललाई स्कुल पठाउन सम्भव छैन भन्ने ठानेकी थिइन् । किनकि, त्यो सानो गाउँमा बसलगायत सवारीको कुनै सुविधा थिएन । तर, पनि अब्दुल र उनको परिवार यस विषयमा दृढ थिए । यसैले, उनीहरूले अब्दुललाई बिस्तारै हातले हिँड्न सिकाए र पिपिनको सहायतामा अब्दुल स्कुल जान थाले । अहिले उनी एक्लै सबै भिरालो बाटो पार गर्न सक्षम भइसकेका छन् । अब्दुलका अनुसार उनलाई वर्षायाममा मात्र बाटोहरू चिप्लो र जोखिमयुक्त हुने गरेकाले कठिनाइ हुने गरेको छ ।

त्यसैले, ती दिनहरूमा परिवारले उनलाई ट्याक्सी वा मोटरसाइकलमा राखेर लैजाने गरेका छन् । तर, एक किलोमिटरको सवारी शुल्क (इन्डोनेसियाको मुद्रा) आइडिआर ७ हजार लाग्ने हुँदा परिवारसँग अतिरिक्त पैसा भएका वेला मात्र उनले यस्तो सुविधा पाउने गरेका छन् । परिवारले नसकेको अवस्थामा उनी जोखिम मोलेर वर्षामा पनि हात टेकेरै स्कुल पुग्ने गरेका छन् ।

विद्यालयका प्रधान अध्यापक एपी मुल्यादिले अब्दुलको पहिलो कक्षा सम्झदै आफूले पहिलो दिनमै उनीमा अधिक क्षमता देखेको बताए । पढाइप्रति उनको उत्साह र लगनशीलताले नै आफ्नो मन जितेको हुँदा अब्दुललाई विद्यालयमा भर्ना दिलाउने निर्णय लिएको उनको भनाइ छ । उनले भने, ‘उनी भर्ना हुँदा उनकी आमा अत्यन्तै चिन्तित भएकाबारे मलाई राम्रो थाहा थियो । त्यसैले मैले नै उनलाई अब्दुल शारीरिकबाहेक अरू सबै ढंगमा सक्षम भएकाबारे सुनिश्चित गराएँ । उसलाई साथीहरूसँग घुलमिल हुनदेखि पढाइमा सबैसँग अगाडि बढ्नमा समेत कुनै समस्या नभएको हामीले देखेका छौँ ।’ त्यस्तै, शारीरिक समस्या भएपनि उनी अतिरिक्त क्रियाकलाप र खेलकुदमा सक्रिय रहने गरेको एपिले बताए ।

यसैले, पनि अहिले तीन कक्षामा पढ्ने अब्दुललाई सबै शिक्षकहरूले अत्यन्तै एक्टिभ र मिहिनेती विद्यार्थीका रुपमा व्याख्या गरेका छन् । अब्दुल भने विद्यालयमा राम्रो अंकले उत्तीर्ण भई ठूलो सहरको युनिभर्सिटीमा पढाइ पूरा गर्न चाहन्छन् । उनले भने, ‘ मेरो लक्ष्य एउटा आगो नियन्त्रक बन्ने हो किनकि, म मानिसहरूको मद्दत गर्न चाहन्छु र मेरा बाबुआमालाई खुसी राख्न चाहान्छु । ’ यसबाहेक उनको चिकित्सक बन्ने सपना रहेको उनले बताए । डाक्टरले पनि दुःख र पीडामा भएकालाई मद्दत गर्ने भएकाले आफूलाई यसमा पनि अधिक रुचि रहेको उनले बताएका हुन् । यसरी शारीरिक कमजोरीका बाबजुद अब्दुल आफ्नो सपना पूरा गर्न निरन्तर संघर्ष गरिरहेका छन् र सबैका लागि प्रेरणा बनिरहेका छन् ।

प्रतिक्रिया