बलात्कारीलाई २५ वर्ष कैद

रुकुम । तीन वर्षीया बालिका बलात्कारको अभियुक्तलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो । साथै पीडितलाई क्षतिपूर्तिबापत एक लाख भराइदिने अदालतले जानकारी दिएको छ ।

आफ्नै घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिकालाई ०७५ माघ २१ मा कोठामा लगी बलात्कार गरेको आरोपमा मदनलाई प्रहरीले पक्राउ गरेको थियो । पहिले पनि जबर्जस्ती करणी उद्योगमा पाँच वर्ष सजाय भुक्तानी गरिसकेका मदनले त्यसको एक वर्ष नबित्दै फेरि तीन वर्षीया बालिका बलात्कार गरेपछि पटके कसुरमा ६ वर्ष कैद सजाय थप गरिएको इजलास सहायक कुमार राणाले जानकारी दिए ।

पुर्पक्षका लागि रुकुम (पश्चिम) कारागारमा थुनामा रहेका मदनलाई १९ वर्ष र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको श्रेस्तेदार सुशीलकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया