राष्ट्रिय फूलकाे दुरुपयोग बढ्दै

कालीकोट । लालीगुराँस सुरुदेखि नै राष्ट्रिय फूलका रूपमा रहँदै आएको छ । संविधान बनाउने वेलामा पनि अन्यमा विवाद भए पनि यसमा विनाविवाद राष्ट्रिय फूलमा पारित भएको थियो । यसरी विनाविवाद अनुमोदन भएको राष्ट्रिय पूmल आज संरक्षण अभावमा मासिँदै जान थालेको छ ।

पहाडको उच्च भेग तथा हिमाली भेगमा फुल्ने लालीगुराँस टिप्नेहरूको आजभोलि लस्कर लाग्ने गरेको छ । यसको संरक्षण कसले गर्ने भन्ने बारेमा सरकारी निकाय पनि बेखबर जस्दै देखिन्छ । सरकारी निकायले आयोजना गरेका कार्यक्रमहरूमा समेत राष्ट्रिय फूलको चरम दुरुपयोग भएको पाइन्छ । सभा सम्मेलनमा राष्ट्रिय फूल लालीगुराँसका हाँगा भाँचेर गेटमा टाँगेका हुन्छन् भने मञ्चमा बस्ने अतिथिहरूले समेत लालीगुराँसका माला लाएका हुन्छन् ।

स्वागमा माला लाउनु नराम्रो पक्ष होइन । तर, फूल मासिँदै गएको प्रति कसैलाई पनि चिन्ता छैन । गेट सजाउनेदेखि मञ्च सिंगार्नेसम्म लालीगुराँस फूलको प्रयोग भएको पाइन्छ । वनमा शनिबार र बिदाको दिन घुम्न गएका युवायुवती तथा वयस्कहरूले समेत फूललाई टिपेर विभिन्न आकारका चित्र बनाउँदै त्यसैको पर्दा बनाएर फोटा सुट गरिरहका हुन्छन् । पहाडबाट तराइमा झर्ने यातायातका साधनको अगाडि राष्ट्रिय फूल लालीगुराँसले ढाकिएको हुन्छ ।

आखिर राष्ट्रिय महत्वका वस्तुको संरक्षण राष्ट्रले गर्नुपर्ने हो । तर, उनीहरूबाटै राष्ट्रिय महत्वका वस्तुको दुरुपयोग हुँदा निकै अचम्म लाग्ने गरेको स्थानीय पुजारी जयचन्द्र अधिकारीले बताए । यसको संरक्षणले सरकारका प्रतिनिधिहरूले गर्नुपर्ने हो । तर, उहाँहरूबाटै यसको सदुपयोगको नाममा दुरुपयोग भएको पाइन्छ । सबैजसो कार्यक्रममा आजभोलि राष्ट्रिय फूल लालीगुराँसको प्रयोग भएको छ ।

‘नटिप्नु हेर कोपिला नचुट्नु पाप लाग्दछ,
नच्यात्नु फूल नानी हो दया र धर्म भाग्दछ’

यो कविता पढाउने शिक्षकले नै राष्ट्रिय फूल लालीगुराँसको दुरुपयोग गरेपछि विद्यार्थीले के सिक्छन् ? शोमबार सदरमुकाम मान्ममा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघले सञ्चालन गरेको २०आैँ सभामा उपस्थित अतिथिहरूले राष्ट्रिय फूल लालीगुराँसको माला पहिरेका हुन् ।

गएको शनिबार पनि तिलाकर्णाली बहुमुखी क्याम्पस हस्तान्तरण कार्यक्रममा सहभागी भएका मध्यमपश्चिम विश्वविद्यालयका उपकुलपति सहितका विशिष्ठ व्यक्तिले त्यही लालीगुराँसका माला पहिरेका थिए । अब कसले र कसरी संरक्षण गर्दा राष्ट्रिय फूल जोखिन्छ यसका विषयमा सरकारले चाँडै निर्देशन दिन जरुरी छ । नत्र भने बिस्तारै यसका बिरुवासमेत लोप हुने खतरा छ ।

प्रतिक्रिया