विदेशबाट फर्किएर माछापालन

दमौली । तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मंगलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुगे । पोखरीबाट माछा निकाल्ने तयारी गरिएको जानकारी पाएलगत्तै उनी र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुगेका हुन् । उनीहरू माछापोखरी पुग्दा सञ्चालक गणेशकुमार श्रेष्ठसहित स्थानीय गाउँले पोखरीबाट माछा निकाल्न व्यस्त थिए । करिब दुई घण्टाको समयमा पोखरीबाट माछा निकालेपछि कायस्थले १० र रुचालले एक केजी माछा खरिद गरे ।

कायस्थ र रुचाल मात्रै होइन पोखरीबाट माछा निकाल्ने थाहा पाएपछि अन्य ग्राहकसमेत माछा खरिद गर्नका लागि पोखरीमै पुगेका थिए । कायस्थले पोखरीको माछा मीठो हुने भएकाले आफूले सधैँ यहीँबाटै माछा खरिद गर्ने गरेको बताए । सबैका लागि माछा खरिद गरेर ल्याइदिने गरेको उनले बताए । उनले भने, ‘चार÷पाँच जनाले माछा ल्याइदिन अनुरोध गरेर पैसा दिएका थिए । मैले आफूसहित १० केजी माछा खरिद गरेर ल्याएँ ।’

सञ्चालक गणेशकुमार श्रेष्ठले मंगलबार पोखरीबाटै सय केजी माछा बिक्री भएको जानकारी दिए । उनले भने, ‘माछा कहिले निकाल्ने भनेर सोध्छन्, ‘मैले जुन दिन निकाल्ने भनेर खबर गर्छु उनीहरू पोखरीमै आइपुग्छन् ।’ माछा खरिद गर्न आउनेलाई रित्तो हात फर्काउनुपरेको भन्दै उनले भने, ‘सबै माछा बिक्री हुन्छ जस्तो लागेको थिएन, थुप्रैलाई माछा पु¥याउन सकिनँ ।’

पोखरीमै माछाको प्रतिकेजी ४ सय रुपैयाँ पर्छ । माछाका लागि बजारको कुनै समस्या नरहेको बताइएको छ । उनले भने, ‘माछा बिक्री गर्दै बजारसम्म जानुपर्ने अवस्था छैन, पोखरीबाटै छोपाछोप हुन्छ ।’ श्रेष्ठले २० रोपनी क्षेत्रफलमा तीनवटा पोखरी निर्माण गरी माछापालन गरिरहेका छन् । पोखरीमा रहु, कमन, ग्रास, नैनी जातका माछा रहेका छन् ।वार्षिक १० लाख रुपैयाँभन्दा बढीको माछा बिक्री हुने गरेको उनले जानकारी दिए । माछापालनका लागि श्रेष्ठलाई छोरा भीष्म श्रेष्ठले सघाइरहेका छन् । माछापालनको सुरुआत भीष्मले नै गरेका थिए ।

भीष्म १० वर्ष दुबई बसेका थिए । वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनले त्यहाँ मिनरल वाटर कम्पनीमा काम गरे । ०५९ सालदेखि ०६९ सम्म विदेशमा बसेर काम गर्दा उनले केही पैसा त कमाए, तर आत्मसन्तुष्टि कमाउन सकेनन् । उनलाई लाग्यो, विदेशमा बसेर यति दुःख गरेर कमाउने जति त स्वदेशमै बसेर दुःख गरेर पनि कमाउन सकिन्छ ।

दुबई बसाइकै क्रममा उनलाई स्वदेश फर्किएर माछापालन व्यवसाय गर्ने सोच आयो । उनले लगत्तै आफ्ना बाबु गणेशकुमार श्रेष्ठलाई माछापालनबारे सुनाए, बाबुले पनि उनको प्रस्तावमा सहमति जनाए । भीष्म ०६९ सालमा स्वदेश फर्किए । लगत्तै माछापालन गर्न केही प्राविधिक कठिनाइ भयो । लगत्तै उनी मलेशिया गए पनि ६ महिनामै फर्किए । उनी भन्छन्, ‘विदेशमा बस्दा नै फर्किएपछि माछापालन गर्छु भन्ने सोच बनाइसकेको थिएँँँ ।’ स्वदेश फर्किएपछि उनले दमौलीमा होटल सञ्चालनसमेत गरे भने ०७१ सालदेखि माछापालन व्यवसाय पनि ।

भीष्मका बाबु गणेशकुमार श्रेष्ठले भने, ‘अरूले जग्गा भाडामा लिएर माछापालन गरेको समेत देखेँ, तर हाम्रो त आफ्नै जग्गा छ, त्यसमै माछापालन गरौँ न भनेर छोरासँग सल्लाह गरेँ ।’ सुरुमा उनीहरूले ६ रोपनी क्षेत्रफलमा दुइवटा माछापोखरी खनेका थिए । त्यसका लागि तत्कालीन कृषि विकास कार्यालयले ६० हजार रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया