नदी किनारकै जनता काकाकुल

मोहन चन्द, बैतडी । संविधानमा प्रत्येक नागरीकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने स्पष्ट व्यवस्था गरीएको भए पनि जिल्लाको पञ्चेश्वर गाउँपालिका– २ महाकाली नदी छेउका स्थानीय पानीको अभावमा काकाकुल बनेका छन् ।  नजिक भएका पानीका मुहानहरू सुकेको र खानेपानीका लागि सरकारले वैकल्पिक व्यवस्था नगरीदिदा उनीहरू काकाकुल बनेका हुन् । खानेपानी तथा सरसफाइ गर्ने पानीको उपभोगबाट आफूहरू वञ्चित भएको स्थानीयले गुनासो गरेका छन् । अहिले पानीको अभावका कारण आफूहरूलाई निकै समस्या भएको महाकालीका स्थानीय हरी राम औजीले बताए ।

निर्वाचनका वेला प्रत्येक उमेदवारलाई खानेपानीको माग पूरा गर्ने सर्तमा मतदान गरेका भए पनि आफूहरूको समस्या कसैले समाधान नगरेको उनको आरोप छ । ‘पानीको अभावका कारण यहाँका जनताले रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । अहिले उक्त क्षेत्रका करिब चार सय परिवार खानेपानी तथा सरसफाई गर्ने पानीको उपभोगबाट प्रत्यक्ष प्रभावित छन् । ‘यो वर्ष आकाशको पानी परेकाले त्यसैलाई जम्मा गरेर थोरै गुजरा चलाएका छौँ ।’ स्थानीय रणबहादुर चन्दले भने । बस्ती नजिक भएका खानेपानीका मुहानहरू सबै सुकिसकेकाले अब पम्पिङ गरेर पानी निकाल्नुको विकल्प नभएको स्थानीयको भनाइ छ ।

गाउँपालिकाका अधिकांश ठाउँमा खानेपानीको अभाव भएकाले त्यसको समस्या समाधानतर्फ आफूहरू लागिरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको भनाइ छ । तीन वडाहरूमा अहिले खानेपानी योजना निर्माणकको काम चलिरहेको र आउँदा वर्षहरूमा अन्य खानेपानीबाट प्रभावित वडाहरूमा पनि योजना सञ्चालन गरीने उनले बताए । नजिक पानीका मुहान नभएकाले समस्या भएको र गाउँपालिकाले नसकेपनि यहाँको खानेपानी समस्या समाधानका लागि विभिन्न दात्री निकाय र माथिल्लो सरकारलाई आग्रह गरीने चन्दले बताए ।

प्रतिक्रिया